Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

स्थानीय तहलाई अधिकार सम्पन्न बनाइनु पर्नेमा जोड

काठमाडौँ, भदौ १२ । राजधानीमा आयोजित नेपाल नगरपालिका सङ्घको छैठौं राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्ने वक्ताहरूले संघियताको सफल कार्यान्वयनको लागि स्थानीय तहलाई अधिकार सम्पन्न बनाइनुपर्ने कुरामा जोड दिएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले स्थानीय तहलाई अधिकार सम्पन्न नबनाएसम्म जनताले विकासको अनुभूति गर्न नसक्ने भएकाले स्थानीय र प्रदेश सरकारको कानूनी शीघ्र निर्माण गर्न सङ्घीय सरकारलाई आग्रह गरेका छन् ।

“ऐन कानूनको अभावमा हामीले धेरै अप्ठ्यारा भोगिरहेका छौँ । परिणाम दिने गरी काम गर्न सकिएको छैन । सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न स्थानीय तहको भूमिका महत्वपूर्ण रहन्छ” मुख्यमन्त्री पौडेलले भने ।

प्रदेश नं २ का भौतिक योजना तथा पूर्वाधारमन्त्री जीतेन्द्र सोनलले स्थानीय सरकारलाई अधिकार सम्पन्न नबनाएसम्म सङ्घीय प्रणालीको अभ्यास सार्थक नहुने बताए ।

प्रदेश सरकारलाई सामान्य कर्मचारीले समेत नटेर्ने अवस्था आएको भन्दै उनले ऐन कानून तयार गरेर स्थानीय र प्रदेश सरकारलाई हस्तान्तरण गरी अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले नयाँ प्रणाली अवलम्बन गरिएकाले यसलाई सफल बनाउन स्थानीय जनप्रतिनिधि नै लाग्नुपर्ने बताए ।

स्थानीय तहलाई साधन स्रोत सम्पन्न बनाउन प्राकृतिक स्रोत तथा वित्त आयोग स्थापना गर्नुपर्ने भन्दै निधिले कर वृद्धिभन्दा पनि दायरा फराकिलो बनाउन आग्रह गरे ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कर वृद्धि गरिएको विषयमा सामाजिक सञ्जालमा अनावश्यक हल्ला चलाएर सङ्घीय प्रणालीमाथि नै प्रश्न चिह्न उठाउन खोजिएकाले त्यसमा सचेत हुनुपर्ने बताए ।

जिल्ला समन्वय समिति महासङ्घका संयोजक शान्ति सुन्दास, गाउँपालिका महासङ्घका अध्यक्ष होमनारायण श्रेष्ठले सङ्घीय प्रणालीलाई संस्थागत गर्न स्थानीय तह नै महत्वपूर्ण भएकाले सबैले समन्वयात्मक तवरले काम गर्नुपर्नेमा जोड दिएका थिए ।

बुधबारसम्म चल्ने सम्मेलनले नेपाल नगरपालिका सङ्घको नयाँ नेतृत्व चयन गर्ने छ । सो अवसरमा सङ्घले प्रदेश नं ३ का मुख्यमन्त्री पौडेल र वीरगञ्ज महानगरपालिकाका उपप्रमुख शान्ति कार्कीलाई सम्मान गरिएको थियो ।

रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: