बिमस्टेक सम्मेलनमा कसले के भने ?

काठमाडौं, भदौ १५ । दक्षिण र दक्षिण पूर्वी एशियाका सातवटा देशका राष्ट्र तथा सरकार प्रमुखहरूले यी मुलुकबीच पूर्वाधारको सञ्जाल विस्तार तथा आतंकवाद र बहुराष्ट्रिय अपराध नियन्त्रणका लागि सहकार्यमा जोड दिएका छन्।

बिहीबार काठमाडौं सुरु भएको बिम्स्टेकको चौथो शिखर सम्मेलनमा बोल्दै उनीहरूले ऊर्जा तथा यातायातको सञ्जाल विस्तारमा सहकार्य गर्ने प्रतिबद्धता जनाए भने जलवायु परिवर्तन र गरिबी निवारण जस्ता विषयमा समेत सामूहिक रूपमा अघि बढ्ने बताए।

कतिपयले अन्य क्षेत्रीय संगठनलाई कमजोर पार्न बिमस्टेकलाई बढी महत्त्व दिइएको बताइरहँदा सदस्य मुलुकका नेताहरूले भने अन्य क्षेत्रीय संगठन र बिमस्टेक परिपूरक भएको समेत बताएका थिए।

बिमस्टेकको वर्तमान अध्यक्षको रूपमा चौथो शिखर सम्मेलन उद्घाटन गर्दै नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले क्षेत्रीय सञ्जाल विस्तारमा जोड दिए।

प्राथमिकता
उनले क्षेत्रिय विद्युत ग्रिड र यातायात सञ्जाल बनाउने विषयलाई शिखर सम्मेलनले प्राथमिकता दिएको बताए। सबैखाले क्षेत्रीय संगठनको आ(आफ्नै महत्त्व रहेको भन्दै ओलीले नेपाल सार्थक खाले क्षेत्रीय संगठनको पक्षमा रहेको जनाउ दिए।

उनले भने, ‘हामी सार्क र बिम्स्टेक एक(अर्कालाई प्रतिस्थापन गर्ने भन्दा पनि एक अर्काका परिपूरक हुन् भन्ने कुरामा विश्वास गर्छौं। हामी बिबिआइएनका माध्यमबाट पनि उप(क्षेत्रीय सहयोगलाई प्रभावकारी बनाउन प्रतिबद्ध छौं।’

बांग्लादेश, भुटान, भारत र नेपाललाई छोटकारीमा बिबिआइएन पनि भन्ने गरिन्छ। प्रधानमन्त्री ओलीले यस क्षेत्रमा आतंकवाद, मानव तथा लागू औषध तस्करी र सम्पत्ति शुद्धिकरण विरूद्ध सामुहिक रूपमा लड्न सबै मुलुक एकै स्थानमा आउनुपर्नेमा जोड दिए।

जोड
सम्मेलनमा सहभागी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत बिमस्टेकलाई सशक्त बनाउन सबैखाले सहयोग गर्न तत्पर रहेको बताए। उनले आतंकवाद, विपद् व्यवस्थापन लगायतमा सामूहिक प्रयासका लागि भारतमा आगामी महिना बिमस्टेकमा आबद्ध मुलुकबीच संयुक्त सैन्य अभ्यास हुन लागेको जानकारी दिए।

कतिपयले यसलाई पाकिस्तान र चीन विरुद्धको सैन्य गठबन्धन भनिरहेका बेला मोदीले भने यो विशेषगरी अन्तर्राष्ट्रिय संगठित अपराध नियन्त्रण र विपद् व्यवस्थापनमा केन्द्रीत हुने बताए।

उनले भने, ‘हामीमध्ये कुनै पनि मुलुक त्यस्तो छैन जसले आतंकवाद र आतंकवादको सञ्जालसँग जोडिएका अन्तर्राष्ट्रिय अपराध र लागूपदार्थ तस्करीजस्ता समस्या नभोगेको होस्। यो समस्या कुनै पनि एउटा मुलुकको कानुन वा व्यवस्थाको समस्या होइन।’

मोदीले क्षेत्रीयस्तरमा युवा, प्रविधि, संस्कृतिलगायतका क्षेत्रमा सहकार्य गर्नुपर्ने पनि बताए।

अवसर
सम्मेलनमा बोल्दै बांग्लादेशकी प्रधानमन्त्री शेख हसिनाले भने गरिबी निवारण र विकासका लागि क्षेत्रीय पहल हुनुपर्नेमा जोड दिइन्। उनले पूर्वाधारहरूका सञ्जाल विस्तारले नयाँ अवसरको ढोका खोल्ने बताइन्।

हसिनाले भनिन्, ‘नयाँ बिम्स्टेक विद्युत ग्रिडले हाम्रा द्विपक्षीय, त्रिपक्षीय तथा क्षेत्रीय पहलहरूमा उर्जा सहकार्यका लागि नयाँ ढोका खोल्छ।’

भुटानका प्रधानन्यायाधीश तथा अन्तरिम सरकारका प्रमुख सल्लाहकार छिरिङ वाङ्चुकले भने जलवायु परिवर्तन र विद्युतीय प्रविधि विकासमा सहकार्य अघि बढाउनु पर्नेमा जोड दिए।

अनुमोदन
यसैगरी म्यानमारका राष्ट्रपति विन मिन्ट, थाईल्यान्डका प्रधानमन्त्री प्रयुथ चान ओचा र श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले समेत क्षेत्रीय एकीकरणमा जोड दिए।

बिम्स्टेकका सबै सदस्य मुलुकहरूले अन्तर्राष्ट्रिय आतंकवाद, अन्दरदेशीय संगठित अपराध र अवैध लागूअऔषध कारोबार विरूद्ध सहयोग सम्बन्धी बिम्स्टेक महासन्धिलाई अनुमोदन गरिसकेका छन्।

नेपालले भने हालै मात्र प्रतिनिधसभाबाट यसलाई अनुमोदन गरेको छ।

शुक्रबार सकिने बिम्स्टेक सम्मेलनका क्रममा नेपाल सहित अन्य मुलुकका राष्ट्र प्रमुखहरूबीच द्विपक्षीय भेटघाटहरू पनि हुनेछन्।

सम्मेलनले बिम्स्टेकको बडापत्रलाई अन्तिम रूप दिने अपेक्षा गरिएको छ भने विकास कोष स्थापना गर्ने र सचिवालयलाई सक्रिय बनाउने विषयमा समेत ठोस निर्णय लिने बताइएको छ। बीबीसी

कमेन्ट गर्नुहोस्