मुख्यमन्त्री शाही विद्यालयको भवन निर्माणका लागि ढुंगा बोक्न थालेपछि

बीरेन्द्रनगर, भदौ १५ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ स्थित सरस्वती बाल विकास केन्द्र विद्यालयको भवन निर्माणस्थलमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही शुक्रबार बिहानै पुगे. ।

टिसर्ट–ट्रयाक लगाएका मुख्यमन्त्री शाही दलबल लिएर ढुंगामाटो बोक्न थाले । उनीसँगै कर्णाली सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी, सामाजिक विकास मन्त्री दल रावल, कृषिमन्त्री विमला केसी पनि काममा खटिए ।

प्रदेश सरकारको पहिलो बैठकले श्रमप्रति सम्मान बढाउन हरेक महिनाको १ र १५ गते श्रम दिवस मनाउने निर्णय गरेसंगै शुक्रबार मुख्यमन्त्री नेतृत्वको सरकारी टोली बाल विकास केन्द्रको भवन निर्माणमा खटिएको हो ।

शाहीले एक कोठे भवनको शिलान्यास पनि गर्नुभयो । २०७१ सालको बाढीले बगाएको सो बाल विकास केन्द्र बजेट अभावले पुनर्निर्माण हुन सकेको थिएन । प्रदेश श्रम दिवसका अवसरमा भवन शिलान्याससंगै तटबन्ध पनि निर्माण सुरु गरियो ।

जोखिमयुक्त बस्तीमा धनजनको क्षति नहोस् भनेर सरकारले बाढीपीडित बस्ती छेउको खोर्के खोलामा तटबन्ध निर्माण गरेको हो । मुख्यमन्त्री शाहीले जनतालाई सरकार नजिक छ भन्ने अनुभूति गराउन र उनीहरु स्वयंलाई यो कामप्रति हाम्रो पनि दायित्व छ भन्ने बोध गराउन आफै फिल्डमा खटिएको बताए ।

त्यस्तै, मुख्यमन्त्रीले एक महिनाको आफ्नो पारिश्रमिक रकम सो बाल विकास केन्द्रलाई हस्तान्तरण गर्ने घोषणा गर्नुभयो । आन्तरिक तथा कानुनमन्त्री नरेश भण्डारीले प्राकृतिक विपतबाट हुने जोखिमलाई कम गर्न प्रदेश सरकारले पूर्वसावधानीका साथ काम गरेको बताए ।

उनले भने, ‘समाजमा आइपर्ने प्राकृतिक तथा मानवीय विपतप्रति सरकार संवेदनशील छ ।’ सामाजिक विकासमन्त्री दल रावलले सरस्वती टोल बालविकास केन्द्र स्थापनाका लागि मन्त्रालयले पाँच लाख बजेट विनियोजन गरेको जानकारी दिए । कान्तिपुरबाट

कमेन्ट गर्नुहोस्