बैतडीमा विकासले ल्यायो जोखिम

बैतडी, भदौ २०। बैतडीमा मापदण्ड विपरित जथाभावी खनिएका सडकहरूले वर्षायाममा थप जोखिम निम्त्याइरहेका छन् ।

जिल्लाको दोगदाकेदार गाउँपालिका-३ सिल्लका जनक चन्दको घर छेवैबाट काटिएको खोचेलेक चडेपानी सडकले त्यस्तै जोखिम ल्याएको छ । निरन्तरको वर्षा र बिना प्राविधिकको सल्लाहले खनिएको सडकले पहिरोको जोखिम बढाएको हो ।

तर यसरी नयाँ खनिएका सडकले जोखिममा पारेको चन्दको घर एक्लो भने होइन । जिल्लामा बजेट सिध्याउने उद्देश्यले विकास-निर्माणका नाममा आर्थिक वर्षको अन्त्यतिर थालिने यस्ता ‘असारे विकास’ विशेष गरी सडक लक्षित हुने गरेका छन् ।

जिल्लाका विभिन्न स्थानीय तहले वातावरणको ख्यालै नगरी सडक बनाउन चलाएका डोजरको बितण्डा पहिलो वर्षातमै देखिन थालेपछी स्थानीयहरू चिन्तित बनेका छन् । धेरै ठाउँमा वर्षातमै खनिएका सडक भत्केर भताभुंग भएका छन् भने सडक मुनितिरका बस्ती पहिरो र बाढीको जोखिममा परेका छन् ।


बजेट सिध्याउननै विकासको नाममा असारमा आएर हतार हतार काम सिध्याउने प्रवृत्तिले जोखिम झनै बढाएको छ ।
मुख्य राजमार्गको ख्यालै नगरी निर्माण गरिएका शाखा सडक तथा राजमार्ग माथि र मुनितिर खनिएका सडकले समेत वस्तीलाई जोखिममा पारिदिएका छन् । दोगडाकेदार गाउँपालिकाको खोचलेक बजारदेखि चडेपानी जान खनिएका सडकका कारण खिरेगाउँको सिङ्गो बस्ती जोखिममा परेको छ ।

प्राविधिक र वातावरणीय पक्षलाई बेवास्ता गर्दै डोजर, एस्काभेटरजस्ता गह्रुँगा उपकरण प्रयोग गरेर सडक निर्माणका क्रममा निकालिएको माटो र पानीको व्यवस्थापन नहुँदा विपतको जोखिम बढाएको दोगडाकेदार–३ श्रीकोटका हेमराज गिरीले बताउँछन् । सडकले थुपारेको माटो बर्खाको पानीले गलेर बग्ने, सडकमा जम्ने पानीले खोल्सा बनाउने, माटो बगाउँदा वरपरका वस्तीमा पहिरो खस्ने, जमिन भासिने, भू–क्षय हुने र नदीमा बाढीको आयतन बढेर कटान गर्ने क्रम बढेको छ । उनी भन्छन्– “भू–संवेदनशीलतालाई ध्यान नदिएर डोजर चालकले आफूखुशी खनेका सडक विपतको प्रमुख कारण बनेको छ ।”

यसका साथै उपभोक्ता समितिले सडकको नयाँ ट्र्याक बनाउँदा पर्खाल लगाउने, वृक्षरोपण गर्ने, भल व्यवस्थापनका लागि नाली बनाउने र माटोको व्यवस्थापन गर्ने काममा खासै ध्यान नदिँदा पहिरोको समस्या बढेको हो ।

अविरल वर्षाले डिलासैनी गाउँपालिका–३ मा खहरेखोलामा बाढी आयो । खोलामा आएको बाढी गाउँमा पसेपछि स्थानीय बासिन्दाको दुई सय रोपनी जमीन बगरमा परिणत भयो । यो वर्ष कलदे खोला सिमार र तल्लो छेपट्टा गाउँमा पस्दा २२ घर जोखिममा परेका छन् ।
एक्कासी खहरे खोलामा आएको बाढीले खेतमा रोपेको धानबाली पूरै नष्ट गरिदिएको स्थानीयवासी अर्जुन रानाले दुःखेसो पोखे । कलदे खोलामा आएको बाढीको कारण सडकको ह्युम पाइप थुनिएर गाउँ पसेको हो । खेतमा लगाइएको धानबाली पूरै नष्ट भएपछि झनै समस्यामा परेको बताउँदै राना भन्छन्– “खहरे खोलामा आएको बाढीले एकातिर समस्या निम्त्याएको छ भने खेतको छेउतिर चमेलिया नदीले कटान गर्दै गएको छ ।”

“एक्कासी आएको बाढीले खेतीयोग्य जमिन बगाइदियो, त्यो बेला त ज्यान जोगाउनै मुश्किल पऱ्यो,” रानाले भने– “आकाशमा कालो बादल मडारिँदा अहिले पनि डर लाग्छ । फेरि खोलामा आउने बाढीले घर नै बगाउने हो कि भन्ने चिन्ता लाग्छ ।”

डिलाशैनीका स्थानीय बासिन्दालाई बाढीले ठूलै समस्यामा पारेको छ । बाढीले खेतीयोग्य जमीन पूरै पुरिदिएपछि समस्या भएको स्थानीयवासी रमेश धामीको भनाइ छ । डिलाशैनी गाउँपालिका वडा नं ६ स्थित हरिनगर बजार बाढी र पहिरोको जोखिममा छ । तलतिर चमेलिया नदीको कटान र माथिबाट पहिरो खस्ने भएकाले बजार नै जोखिममा रहेको वडा नं ६ का वडा सदस्य चन्द्रीनाथ योगीले बताए ।

जिल्लाका विभिन्न स्थानमा खनिएका कच्ची सडकले बाढी र पहिरोको जोखिम बढाएको स्थानीय बासिन्दाको गुनासो छ । अध्ययनबिनै स्थानीय तहले धमाधम कच्ची सडक खनेपछि अहिले ती सडकले खेतबारी बगाउन थालेका छन् । दशरथचन्द नगरपालिकाको छेला–दुर्गाभवानी सडकका कारण सडक तलतिरका बस्तीहरु जोखिममा परेका छन् ।
वर्षाले सडकको पूरै माटो खेतमा पसेर खेतबारी नष्ट गर्नाका साथै सडक माथिबाट आएको खहरेले घर छेउमै पहिरो जाँदा समस्या भएको सुर्नया–६ का दुर्गादत्त अवस्थीले बताए । उनी भन्छन्– “खेतबारी र घरै जोखिममा परेपछि अर्को घरमा सरेका छौं ।”

जिल्लाको डिलाशैनी गाउँपालिकाको गोकुलेश्वर, रुद्रेश्वर, दोगडाकेदार गाउँपालिकाको सित्तड, पुर्चौंडी नगरपालिकाको मल्लादेही, मेलौली नगरपालिकाको विशालपुरलगायत क्षेत्र पहिरोको जोखिम छ । ती क्षेत्रमा कच्ची सडक खन्ने क्रम बढेसँग जोखिम बढेको हो ।

बजेट सक्ने उद्देश्यले आर्थिक वर्षको अन्तमा डोजर डुलाएर पाखो खन्ने प्रवृत्तिले विपत् बढाएको सुर्नयाका नरेन्द्र विष्टको भनाइ रहेको छ । “स्थानीय सरकार बनेपछि समयमै विकास निर्माणका काम हुन्छ भन्ने आशा भएपनि त्यसो भएन,” उहाँले भन्नुभयो – “स्थानीय सरकार भएको अनुभूति गरिएको भएपनि असारे प्रवृति भने कायम छ ।”

स्थानीय तहहरुले भने बजेट सिध्याउनकै लागि असारमा आएर मात्र विकास निर्माणका कामहरु गर्ने गरेका कारण गुणस्तरीय नहुने गरेको स्थानीय बासिन्दाको भनाइ रहेको छ । बैतडीमा गत आर्थिक वर्षको कुल पूँजीगत बजेटमध्ये ४५ प्रतिशत असार महिनामा खर्च भएको थियो ।
अधिकांश विकास अड्डाहरुको रकम असारमा खर्च भएको हो । कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार असार महिनामा मात्रै रु ७ करोड ९३ लाख खर्च भएको छ ।

जिल्लामा कुल पुँजीगत बजेट रु २ अर्ब १५ करोड ७९ लाख मध्ये रु १ अर्ब ८४ करोड ६४ लाख खर्च भएको छ । यसमा ४५ प्रतिशत रकम असार महिनामा मात्रै खर्च भएको प्रमुख कोष नियन्त्रक वासुदेव जोशीले बताए ।

स्थानीयस्तरमा विपद् व्यवस्थापन समिति गठन गरी सक्रिय बनाइए प्रकोपजन्य घटनाहरुमा कमी आउने र क्षति न्यून हुने प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैह्रेले बताए ।

ग्रामीण क्षेत्रमा स्थानीय तहहरुले खनेका सडकहरुले ४-५ वर्षसम्म विपत्ति निम्त्याउन सक्ने डिभिजन सडक कार्यालय पाटन बैतडीका प्रमुख अमित श्रेष्ठले बताए । नयाँ खनिएका सडकहरु ‘सेट’ हुन केही वर्ष लाग्दछ । उनी भन्छन् – “स्थानीय तहहरुले सडक खन्दा मापदण्डअनुसार निर्माण गर्नु आवश्यक छ ।”
रासस

 

कमेन्ट गर्नुहोस्