नेपालले अब तेस्रो मुलुकसँगको व्यापारमा चीनका बन्दरगाह प्रयोग गर्ने

काठमाडौं, भदौ २२ । नेपालले अब तेस्रो मुलुकसँगको व्यापारमा चीनका बन्दरगाहलाई सहजरुपमा प्रयोग गर्न पाउने भएको छ ।

बिहीबार यहाँ सम्पन्न नेपाल र चीनका अधिकारीबीच भएको पारवहन सम्झौताको प्रोटोकल (कार्यविधि) को तेस्रो बैठकले सोसम्बन्धी मस्यौदालाई अन्तिम रुप दिएको हो । हाल नेपाल तेस्रो मुलुकसँगको व्यापारका लागि भारतको कोलकाता बन्दरगाहमा भर पर्दै आएको थियो ।

सहमतिपछि तेस्रो मुलुकबाट चीन हुँदै नेपालमा वस्तु आयात गर्दा प्रयोग हुने तेइञ्जीन, सान्झेन, लियानयुगाङ र झान्झेनलगायत खुला सामुद्रिक बन्दरगाह र लान्झाउ, ल्हासा, सिगात्सेलगायत सुख्खा बन्दरगाहमा सहज पहुँच हुनेछ ।

याे पनि पढ्नुस  नेपाल र नेदरल्यान्ड्सबीचको खेल शुरु, नेपाल बलिङ गर्दै

बैठकले उक्त बन्दरगाहबाट नेपालसम्म आउने उपयुक्त मार्ग, भन्सारसँग सम्बन्धित प्रक्रिया, यातायातको माध्यम, ढुवानी प्रक्रियालगायत पारवहनसम्बन्धी विविध विषयमा सौहार्दपूर्ण वातावरणमा छलफल भई प्रोटोकलको मस्यौदालाई अन्तिम रुप दिएको हो ।

उक्त मस्यौदा मन्त्रिपरिषद्ले पारित गरेसँगै लागू हुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशङ्कर सँैजुले जानकारी दिनुभयो । भारतको कोलकाता बन्दरगाह नेपालले प्रयोग गर्दा सीमित मार्ग छ । चीनसँगको पारवाहन सम्झौतानुसार चीनका सबै मार्ग नेपालले प्रयोग गर्न कार्यविधिमा उल्लेख छ ।

याे पनि पढ्नुस  चिनियाँ लगानीकर्ताको चासो बढ्यो

यही भदौ १९ देखि २१ गतेसम्म चलेको बैठकमा नेपाली पक्षको नेतृत्व उद्योग मन्त्रालयका सहसचिव सैँजु र चिनियाँ पक्षको नेतृत्व यातायात सेवा विभाग, यातायात मन्त्रालयका महानिर्देशक वाङ सुइपिङले गर्नुभएको थियो ।

बैठकमा नेपालका तर्फबाट उद्योग, परराष्ट्र, कानून न्याय तथा संसदीय मामिला, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, भन्सार विभाग, नेपाली दूतावास (बेइजिङ),लगायत पदाधिकारीको सहभागिता थियो । त्यस्तै चिनियाँ पक्षबाट यातायात र परराष्ट्र मन्त्रालय, इञ्जिनीयरिङ सुपरभिजन विभाग, नेशनल रेल्वे एडमिनिस्ट्रेशनलगायत सम्बन्धित निकायका पदाधिकारीको सहभागिता थियो ।

कमेन्ट गर्नुहोस्