बाँस बेचेर विद्यालयलाई सहयोग, तरकारी खेतीमा अनुदान

कञ्चनपुर, भदौ २३ । कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ मा रहेको जनहित महाकाली सामुदायिक वनले बाँस बेचेर विद्यालयलाई सघाउँदै आएको छ । सामुदायिक वनको २४ हेक्टर क्षेत्रफलमा तीन प्रजातिका झण्डै पाँच हजार बढी बाँसका बिरुवा रोपेर हुर्काएको छ ।

रोपिएका बाँस बेचेर सामुदायिक वनले वार्षिक तीन लाखदेखि पाँच लाख रुपैयाँसम्म आम्दानी गर्दैआएको छ । बाँस बेचेर आएको रकम विद्यालयका निजी स्रोतमा पढाउँदै आएका शिक्षकको तलब, विद्यार्थीलाई छात्रवृत्ति र भौतिक पूर्वाधार निर्माणका लागि खर्चदै आएको छ ।

बालकल्याण आधारभूत विद्यालय, कालिका माध्यमिक विद्यालय र उदय सरस्वती माध्यमिक विद्यालयलाई यसवर्ष रु ५० हजारका दरले रकम उपलब्ध गराइएको सामुदायिक वनका सचिव शालिकराम चौधरीले बताए ।

याे पनि पढ्नुस  श्रीमान् वैदेशिक रोजगारीमा: अनैतिक सम्बन्धबाट जन्मिएको शिशुको हत्या, २ पक्राउ

छ वर्षदेखि सामुदायिक वनले बाँस बेच्दै आएको छ । “प्रतिवर्ष बाँस बिक्रीबाट आएको रकम विद्यालयकै विकासका लागि खर्चेका छौंँ” सचिव चौधरीले भने, “सामुदायिक वनबाट फर्निचर निर्माण गर्न बाँस बिक्री हुने गरेको छ ।”

तरकारीखेतीका लागि अनुदान

गरीबी न्यूनीकरण गर्नका लागि सामुदायिक वनले काठ र दाउरा बिक्री गरेर आएको रकम परिचालन गरी न्यून आयस्रोत भएका उपभोक्तालाई तरकारी खेतीका लागि अनुदान रकम समेत उपलब्ध गराउँदै आएको छ ।

सामुदायिक वनको आम्दानीको २५ प्रतिशत रकम वन हेरालाको तलब, वृक्षरोपण, तारबार मर्मत, झाडी सफाइ र अग्निरेखा निर्माणका लागि छुट्ट्याउने गरेको छ । बाँकी ३५ प्रतिशत रकम उपभोक्ताको गरीबी न्यूनीकरणका लागि खर्चदै आएको छ । तरकारी खेतीका लागि २५ जना उपभोक्तालाई रु एक लाख बराबरको बीउ, रासायनिक मलखाद र विषादी निःशुल्क रुपमा उपलब्ध गराइएको छ ।

याे पनि पढ्नुस  २० लाख घुससहित प्रमुख पक्राउ

प्लास्टिक टनेल बनाउनका लागि सामुदायिक वनबाट रु ५० हजार मूल्य बराबरका बाँस उपलब्ध गराइएको सामुदायिक वनका अध्यक्ष परदेशु डगौराले बताए । यसवर्ष ३० जना उपभोक्तालाई बाख्रा, बङ्गुरपालन, किनारा पसल र सिलाइकटाइ पसल सञ्चालनका लागि रु चार लाख पाँच हजार रकम अनुदानस्वरुप उपलब्ध गराएको छ ।

हालसम्म ७० जना बढी उपभोक्ताको आयस्रोतमा वृद्धि गर्नका लागि अनुदान रकम उपलब्ध गराई स्वरोजगार बनाइएको सामुदायिक वनका अध्यक्ष डगौराले बताए । काठ दाउरा बिक्री गरेर यसवर्ष सामुदायिक वनले रु सात लाख आम्दानी गरेको छ ।

याे पनि पढ्नुस  निर्मला हत्या प्रकरणः तत्कालीन एसपी विष्टलाई साढे १० लाख धरौटीमा छोड्न आदेश

पहिला राष्ट्रिय वन हुँदा पूरै वनको आम्दानी वन कार्यालयले लाने गर्दथ्यो अध्यक्ष चौधरीले भने, “वन जोगाएर हुर्काएपछि आम्दानीको उपभोक्ताको हातमा पर्न थालेको छ ।” वनको आम्दानी बढाउनका लागि सामुदायिक वनको पाँच हेक्टर क्षेत्रफलमा उपभोक्ताले कुरिलो खेती गरेका छन् । डाबर कम्पनीको सहकार्यमा कुरिलो खेती गरिएको छ । उत्पादित कुरिलो कम्पनीले नै खरिद गरेर लैजाने सम्झौतामा उल्लेख गरिएको छ ।

कमेन्ट गर्नुहोस्