सेवा निवृत्त भएपनि फुर्सदिलो भने छैन

ललितपुर । सेवा निवृत्त भएपनि काभ्रेपलाञ्चोकका माधवप्रसाद अधिकारी फुर्सदिलो भने रहेका छैनन् । पहिलेभन्दा अहिले उनी अझै व्यस्त रहेका छन् । बिहान अरू जागिरे कर्मचारीभन्दा चाँडो निस्कनुहुन्छ र साँझ अबेर निवास स्थान फर्किने गर्दछन् ।

शिक्षकका रूपमा झण्डै चार दशक काम गरेर अवकाश पाएका उनी दैनिक विभिन्न विद्यालय पुगेर विद्यार्थी र शिक्षकलाई विज्ञानको प्रयोगात्मक ज्ञान दिलाउने गर्दछन् ।

काम गर्दा तलब पाइएकाले निवृित्तभरण पनि काम नगरी लिनु हुँदैन भन्ने मान्यता राख्ने उनी भन्छन्, “ निवृित्तभरणबाट आउने पैसाबाट गाडी भाडा तिर्ने र खाजा खाने गरेर आफूले जानेको ज्ञान प्रत्येक विद्यालयमा पुगेर बाँड्ने गरेको छु।”

अधिकारीले विद्यालयमा गएर विद्यार्थीलाई प्रयोगात्मक पाठ सिकाउन थाल्नुभएको चार वर्ष भयो । त्यस अवधिमा उनले २८५ विद्यालयमा पुगेर कक्षा लिइसकेका छन् । काभ्रेपलाञ्चोका अधिकांश सामुदायिक विद्यालयका साथै काठमाडौँ उपत्यकाका तीन जिल्ला, रामेछाप, सिन्धुली, मकवानपुर, नुवाकोट, मुस्ताङ र भारतका चार प्रान्तमा पुगेर आफूले विद्यार्थीलाई विज्ञानका प्रयोगात्मक अभ्यास गराएको उनी बताउँछन् ।

विद्यार्थीलाई किताबका पाठ घोकाएर मात्र नभई देखाएर र आफैँ गर्न लगाएर सिकाउने उद्देश्यले कक्षा ९ र १० का हरेक पाठलाई प्रयोगात्मक रूपले उनले गरेर सिकाउने गरेका छन् । यी पाठका प्रयोगात्मक अभ्यास घरमै भएका सामाग्रीको प्रयोगबाट गर्न सकिने जानकारी दिँदै उनी भन्छन्, “विज्ञानका अभ्यास गराउन शिक्षकले जाँगर देखाए मात्रै पुग्छ आवश्यक सामाग्री वरपरै धेरै छन् ।” शिक्षक अधिकारी पुग्नुभएका प्रत्येक विद्यालयमा दुई-तीन घण्टासम्म विद्यार्थी उत्सुक भएर बस्छन् । कतिपय विद्यालयले समय थपेर समेत उgलाई लामो कक्षा लिन लगाउने गर्छन् ।

धेरैजसो आज कहाँ जाने भन्ने उहाँ आफैँलाई समेत पत्तो हुँदैन । बिहानीको खाना खाएपछि झोला बोकेर उहाँ नयाँ–नयाँ ठाउँ पुग्ने गरेका छन् । कहिलेकाहीँ नाम नै नसुनेको ठाउँमा समेत पुगेर त्यहाँको मध्यामिक विद्यालय खोजी व्यवस्थापनलाई भेटेर कक्षा लिन समय माग्नुहुन्छ । उनी भन्छन्, “सकेसम्म शिक्षकलाई समेत विद्यार्थीसँगै राखेर कक्षा लिने गरेको छुु ।”

अधिकारी पुगेका अधिकांश विद्यालयले उनको उद्देश्य सुनेपछि कक्षा लिन अनुमति दिन्छन् । प्रधानाध्यापकसँगै अरू शिक्षक पनि कक्षामा सहभागी हुन्छन् । कतिपय विद्यालयले दोहोर्याएर आउनसमेत आग्रह गर्छन् । अहिलेसम्म २८८ विद्यालयमा पुगेका पाँच विद्यालयबाट भने रित्तो हात फर्कनु पर्यो । शिक्षक अधिकारी भन्छन्, “मैले आफ्नो उद्देश्यभन्दा पनि पढाउन समय नदिने केही विद्यालयबाट फर्किनु परेको अनुभव छ ।”

अधिकारी सामुदायिक विद्यालयमा मात्रै कक्षा लिन जाने गरेका छन् । त्यहाँ उनी निःशुल्क कक्षा लिने गरेका छन् । कतिपय विद्यालयले भने खाममा पैसा दिन आउँछन् । पैसा दिन खोज्ने विद्यालयलाई उनी आफूलाई निवृत्तिभरण नै पर्याप्त छ भन्दै फर्काउने गर्दछन् । आर्थिक रूपमा सम्पन्न विद्यालयबाट पैसा लिँदा आफू नाफामुखी बनिने हो की भन्ने चिन्ता गर्ने उनी भन्छन्, “पैसा दिने विद्यालय खोजेर जाने थालेँ भने मेरो उद्देश्य पनि पूरा हुँदैन ।”

ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयसम्म पुग्दा धेरैले विज्ञान विषयको महत्व नबुझेको चार दशक विज्ञान विषय पढाउनुभएका शिक्षक अधिकारी बताउँछन् । अधिकांश विद्यालयमा विज्ञानको छुट्टै प्रयोगशाला छैनन् । कतिपय विद्यालयका कक्षा वा सामग्रीसमेत भूकम्पका समयमा क्षतिग्रस्त थिए । उनी बताउँछन्, “कतिपय विद्यालयमा प्रयोगात्मक सामग्री पूरै धुलाम्मे छन्, तिनलाई बाकसबाट खोलिएको समेत छैन ।” शिक्षकले पनि प्रयोगात्मक अभ्यास गराउन चासो नदिएको उनको अनुभव छ । सैद्धान्तिक विषयमा विद्यार्थीले ल्याएका अङ्कका आधारमा विद्यालयले प्रयोगात्मक परीक्षा नै नलिई अङ्क दिने गरिएको पाइएको छ ।

अधिकारी आफैँले जिल्ला शिक्षा कार्यालयमार्फत जिल्लामा रहेका माध्यमिक विद्यालयको सूची तयार पारेको छ । विद्यालय रहेको स्थान पत्ता लगाएर पुग्ने उनी भन्छन् “ठाउँ थाहा भएसम्म म अचानक नै ती विद्यालयमा पुग्ने गरेको छु ।” स्थान पत्ता नलाग्दा भने विद्यालयमा सम्पर्क गर्नुपर्ने हुन्छ । धेरै सामुदायिक विद्यालयका धेरै विद्यार्थीसम्म पुग्ने उनको लक्ष्य छ । रासस

कमेन्ट गर्नुहोस्