चलचित्र ‘रामकहानी’ हेर्न एकसाथ पुगे रेखा र भुवन

काठमाडौं, भदौ २६ ।  ‘साथी म तिम्रो’, ‘दुनियाँ’ लगायतका चलचित्रमा एकसाथ काम गरेको हिट जोडी हो नायक भुवन केसी र नायिका रेखा थापा । तर, केही समययता दुईबीच ‘कोल्डवार’ चलिरहेको सिने वृतमा चर्चा छ ।

नायिका रेखा थापाले भुवनका छोरा अनमोल केसीलाई ‘मेघास्टार’ भनिएको प्रति आपत्ति जनाएपछि दुईबीच ‘पानी बाराबार’ भएको खबरले यतिबेला ठूलै हलचल मच्चाएको छ । केही हप्ताअगाडि राजधानीमा भएको एक कार्यक्रममा राम्रोसँग बोलचाल नगर्नुले पनि बजारको चर्चालाई राम्रै मलजल गर्‍यो ।

एक स्मारिकामा अनमोलप्रति लक्षित गर्दै एक–दुई हिट चलचित्र दिएको भरमा नयाँलाई ‘मेघास्टार’ भनिनु तर आफूले लगातार १५ वर्षदेखि हिट फिल्म दिँदा पनि ‘महानायिका’ र ‘मेघास्टार’ नभनेकोमा मिडियाप्रति रेखाले दुखेसो पोखेकी थिइन् ।

उनको यो भनाईले भुवनको कम्ता पारो तातेन । उनमा ‘इगो’ भावना पलायो ।

छोरा अनमोलको नेपाली चलचित्र ‘क्याप्टेन’ रेखाको ‘मालिका’सँग जुधाउने भुवनले तयारी समेत थाले । अझै पनि दुई फिल्मको भिडन्त हुने खबर चर्चामा छ ।

आइतबार भने निकै गजबको संयोग जुर्‍यो । भुवन र रेखा एकसाथ अभिनेत्री पूजा शर्मा अभिनीत चलचित्र ‘रामकहानी’ हेर्न कुमार हल पुगेका थिए । हल पस्दा भेट नभएपनि निस्कँदा भने दुबै एकसाथ भए । अनि, मिडियाबाट उम्कने त कुरै भएन ।

भुवनले छेवैमा रहेकी पूजाको अभिनयको प्रशंसा गर्दैगर्दा उनको पछाडि रेखा आइपुगिन् । पत्रकारले उनलाई पनि क्यामेरा अगाडि आउन आग्रह गरेपछि पूजाले बोलाइन् । रेखा हिचकिचाइनन् । उनले मुस्कुराउँदै भुवनलाई अंकमाल गरिन् ।

भुवन र रेखाले फिल्मको तारिफ गरेपछि मिडियाले दुबैलाई प्रश्न गरे, ‘तपाईहरुबीच वाकयुद्धको चर्चा छ नि ? रेखाले मिडियामाथि नै दोष थोपरिन् । भनिन्, ‘तपाईहरुले गर्दिनुभएको हो। हाम्रो त कहिले थिएन ।’ भुवनले पनि रेखाको कुरामा सहमति जनाए ।

दुबैले आफूहरु ‘साथी साथी’ रहेको बताए । भुवनले सधैं रेखा आफ्नो ुफेभरेटु रहेको भन्दै प्रशंसाका शब्द बर्साउन पछि परेनन् । रेखाले त ‘महानायक’ नै भनिदिइन् । उनले मिडियाको भनाईलाई टेक्दै आफूलाई ‘लेडी भुवन केसी’ समेत भन्न भ्याइन् ।

अभिनेत्री रेखाले ‘मेघास्टारु भनिएकोमा आपत्ति जनाएपछि केही हप्ता अगाडि अभिनेता अनमोलले यस विषयमा मुख खोलेका थिए । उनले आफ्नो नजरमा रेखा नै ‘मेघास्टा’ रहेको भन्दै मजेदार जवाफ फर्काएका थिए ।

रेखाले पनि एक कार्यक्रममा आफू ‘महानायिका’ र ‘मेघास्टार’ को ट्यागको भोको नभएको बताएकी थिइन् । दर्शकको माया नै आफ्नो लागि सबैभन्दा ठूलो ट्याग रहेको उनको भनाई थियो ।

अब हेर्न यो बाँकी छ कि रेखा र भुवनको वाकयुद्ध अन्त्य भयो वा ज्यूँकात्यूँ छ ?

कमेन्ट गर्नुहोस्