गेष्ट हाउस चौरमा सिटीहल

चितवन । भरतपुर महानगरपालिका– १० गेष्ट हाउस चौरमा सुविधा सम्पन्न सिटीहल बनाइने भएको छ ।

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले भोगचलन गर्दै आएको सो जग्गामा सिटीहल बनाउने निर्णयको नेपाली काँग्रेसले विरोध गरेपछि सर्वदलीय सहमतिमा गेष्ट हाउस चौरमा सिटीहल निर्माण गर्ने सहमति भएको हो । सो ठाउँमा यसअघि शहीद मञ्च निर्माण गर्ने भन्दै शिलान्यास गरिएको थियो । मञ्च निर्माणको काम अधुरै रहेपछि सिटीहल बनाउन लागिएको हो ।

याे पनि पढ्नुस  सडकमा मागेरसमेत खान नसक्नेको चम्कियो मुहार

भरतपुर महानगरपालिकाले शहरी विकास तथा भवन निर्माण विभागको सहयोगमा सिटीहल निर्माण गर्न लागेको हो ।

गेष्टहाउस चौर जिल्ला समन्वय समितिको मातहतमा रहेको छ । महानगरपालिकाको आग्रहमा सबै राजीतिक दलबीच गेष्ट हाउस चौरमा अन्तर्राष्ट्रियस्तरको सिटीहल बनाउने सहमति भएको महानगर प्रमुख रेनु दाहालले बताए ।

उनले भने, “सिटीहल गेष्ट हाउस चौरमा बनाउने सहमति भएको छ ।”

याे पनि पढ्नुस  अन्जनले केपी ओलीलाई किन किड्नी दिइन्

भरतपुर महानगरपालिका, नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली काङ्ग्रेस तथा जिल्ला समन्वय समितिका प्रमुख एवं प्रतिनिधिको बुधबार सम्पन्न बैठकले सिटीहल गेष्ट हाउस चौरमा बनाउने निर्णय गरेको हो । प्रमुख दाहालका अनुसार पाँच हजार व्यक्ति अटाउने सिटीहल बनाउने गरी महानगरपालिकाले प्रक्रिया अघि बढाउने छ । सिटीहल निर्माणका लागि रु ५० करोड बजेट निकासा भइसकेको छ ।

याे पनि पढ्नुस  कोरिया अघि सर्यो भरतपुरको फोहोर व्यवस्थापन गर्न

महानगरले बनाउन लागेको सिटीहल देशकै नमूना बन्ने महानगर उपप्रमुख पार्वती शाहले बताए । गेष्ट हाउस चौरमा चार बिघा दश धुर जग्गा छ । काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ अस्पतालको जग्गामा सिटीहल निर्माणको विरोध गरिएपनि वैकल्पिक जग्गा खोजी गरी गेष्ट हाउस चौरमा सिटीहल निर्माण गर्न सहमति गरिएको बताउँछन् । उनले विकास निर्माणका काममा महानगरलाई सहयोग गर्ने बताए । रासस

कमेन्ट गर्नुहोस्