मन्त्रीहरू नै संविधानको विरोध गर्दै

जनकपुर, भदौ २९ । सरकारका मन्त्री आफैँ संविधान दिवसको विरोध गर्ने जिम्मेवारीमा भन्ने सुन्दा अचम्म लाग्न सक्छ । तर यो अनौठो जात्रा हाँडीगाउँको नभएर प्रदेश नं. २ को हो ।

राष्ट्रिय जनता पार्टी (राजपा)ले प्रदेश नं २ मा सरकारको नेतृत्व गरिराखेको छ र उसले असोज ३ गते संविधान दिवसको विरोधमा मन्त्री नै खटाएको छ । प्रदेश २ का मन्त्री र राज्यमन्त्री संविधान दिवसको दिन राजपाले आयोजना गर्ने विरोधसभालाई सम्बोधन गर्ने जिम्मेवारीमा रहेका छन् ।

याे पनि पढ्नुस  संविधान संशोधनबारे राजपामा दुई धार

भदौ २५ देखि २८ गतेसम्म काठमाडौंमा बसेको राजपा अध्यक्ष मण्डलको बैठकले मन्त्रीहरूलाई उक्त कार्यक्रममा खटाउने निर्णय गरेको हो ।

यस जिम्मेवारी अनुसार संविधान दिवसको दिन भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनल सप्तरी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय सिरहा, समाजिक विकासमन्त्री नवलकिशोर साह धनुषा, भौतिक पूर्वाधार राज्यमन्त्री डिम्पल झा महोत्तरी, समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा सर्लाही र उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल रौतहटमा योजना हुने विरोधसभाहरूलाई सम्बोधन गर्ने छन् ।

याे पनि पढ्नुस  राजपाद्वारा संघीय समाजवादी फोरमसंग तालमेल गर्ने निर्णय

राजपा अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुरद्वारा हस्ताक्षरित पत्रमा उक्त जिम्मेवारीबारे खुलाइएको छ । संविधान दिवसको दिनमा राजपाले प्रदेश नं २ बाहिर रहेका तराइका जिल्लाहरूमा समेत विरोधसभा गर्ने भएको छ ।

यसकालागि पार्टीका शीर्षस्थ नेताहरूलाई जिम्मेवारीमा खटाइएको छ । यस जिम्मेवारी अन्तर्गत राजेन्द्र महतोले प्रदेश ५ को बाँके र बर्दिया, अनिलकुमार झा प्रदेश ७ को कैलाली र कञ्चनपुर, महेन्द्र राय यादव प्रदेश ५ कै नवलपरासी, रुपन्देही र कपिलवस्तु, शरतसिंह भण्डारी प्रदेश १ को झापा र राजकिशोर यादव प्रदेश १ कै मोरङ र सुनसरीमा सम्बोधन गर्ने बहेका छन् ।

याे पनि पढ्नुस  धोकेबाजहरुको मोर्चाको औचित्य नदेखेर पार्टी फुटायौं - अशोककुमार यादव

अध्यक्ष महन्थ ठाकुरले प्रदेश नं २ को बारा र पर्सामा सम्बोधन गर्ने छन् ।

राजपाले वर्तमान संविधानप्रति घोषित रूपमै असन्तुष्टि व्यक्त गर्दै आइरहेको छ ।

 

कमेन्ट गर्नुहोस्