प्रचण्डको दाबी- कम्युनिस्ट सरकारबाट रुपान्तरण सम्भव छ

भक्तपुर, भदौ २९ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डले कम्युनिस्ट सरकारबाट मात्र मुलुकको रुपान्तरण सम्भव हुने बताएका छन् ।

 

नेपालको पहिलो कम्युनिस्ट विद्यालयका रुपमा स्थापना भएको मदन भण्डारी एशियाली विद्यालयले भक्तपुरको खरिपाटीमा सञ्चालन गरेको २१ दिने विश्वको कम्युनिस्ट इतिहास र वर्तमान विषयको प्रशिक्षण कार्यक्रमको आज समापन कार्यक्रममा उनले देशको रुपान्तरण गर्न सरकार प्रतिवद्ध रहेको बताए ।

याे पनि पढ्नुस  प्रचण्ड भन्छन्,- ‘सरकार सम्वृद्धिको यात्रामा बढिरहेको छ’

 

विश्व कम्युनिस्ट आन्दोलनमा नेपालको दशवर्षे युद्ध, शान्ति पुनः स्थापना, पार्टी एकीकरण र दुई तिहाइको समर्थित सरकारसम्मको यात्रा अभूतपूर्व भएको उनको भनाइ थियो । नेपालको कम्युनिस्ट आन्दोलन र अभियानबाट विश्व समुदाय चकित भएको चर्चा गर्दै प्रचण्डले यही सरकारले नेपालको रुपान्तरण गर्ने भनाइ राखे ।

याे पनि पढ्नुस  निर्मलाका बलात्कारीलाई सार्वजनिक गरेरै छोड्छौं– नेता रावल

 

उनले अहिले पूँजीवादी बजारीकरणको संरचना भत्काएर नयाँ जनवादी एवं राष्ट्रवादी संरचना निर्माण गर्दै समाजवाद उन्मुख राज्य निर्माण गर्नुपर्ने आवश्यकता रहेको औँल्याए । प्रचण्डले नेपालमा राजनीतिक क्रान्ति पूरा भएकाले अब सामाजिक, आर्थिक र सांस्कृतिक रुपान्तरण गरिने बताए ।

 

यही भदौ ९ गतेदेखि शुरु भएको मदन भण्डारी एशियाली विद्यालयबाट विभिन्न १४ देशका ४९ जना विद्यार्थीले पहिलो ब्याचको अध्ययन आजदेखि पूरा गरेका छन् । प्रशिक्षणमा सहभागीलाई अध्यक्ष दाहालले शैक्षिक प्रमाणपत्रसमेत प्रदान गरे । -रासस

कमेन्ट गर्नुहोस्