कागेश्वरी मेला सम्पन्न पर्यटकीय क्षेत्र घोषणा गर्न माग

काठमाडौं, असोज १ । कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीमा रहेको कागेश्वरी महादेव मन्दिरमा प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन लाग्ने कागेअष्टमी मेला सम्पन्न भएको छ ।

राजधानी काठमाडौंको उत्तर पूर्वी भेगस्थित कागेश्वरी महादेव मन्दिरमा एक लाख भन्दा बढी भक्तजनहरुले मेला भरेका छन्।्

कागे अष्टमीसमेत भनिने मेलामा कागरुपी महादेवको पूजा तथा आराधना गरेमा काग स्पर्शबाट हुने अनिष्टबाट बचिने धार्मिक विश्वास रही आएको छ । विशेष धार्मिक एवं सांस्कृतिक महत्व रहेको छ । किंवदन्तीअनुसार परापूर्वकालमा कागले गाईको दूध पहरामा रहेको शिवलिङ्गमा चढाउँदै गरेको गोठालाले देखेपछि त्यहाँ खोस्रेर हेर्दा महादेवको मूर्ति फेला परेकाले त्यसैबेलादेखि वर्षेनी यहाँ मेला लाग्दै आएको बताइन्छ ।

कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीका वडा अध्यक्ष मकुन्द गजुरेलले धार्मिक, ऐतिहासिक र पर्यटकीय गन्तव्य कागेश्वरीलाई धार्मिक पर्यटनको रुपमा विकास गरिने बताए । उनले भने,‘कागेश्वरी विकासको लागि गुरु योजना बनाएर नै काम अगाडि बढाउने तयारीमा गरिरहेको छौ, यस क्षेत्रलाई पर्यकीय क्षेत्र घोषणा गर्नको लागि हामी पूर्वाधार निर्माणमा जुटेका छौ ।’

मेलामा हिन्दू र बौद्ध धर्मावलम्बीसमेत लाखौँको संख्यामा भीड लागेको थियो । सत्ययुगमा सतीदेवीको अङ्ग पतन भएर एक शिवलिङ्ग उत्पन्न भएको भनाइ स्वस्थानी व्रत कथामा उल्लेख छ । कागेश्वरी महादेवको मन्दिरमुनि र माथि रहेको छहरा एवं झरनाले यहाँ आउने जोसुकैको मन लोभ्याउने गरेको कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीका वडा सचिव विनय सिम्खडाले बताए ।

कागेश्वरी मनहरा नगरपालिकाका नगर प्रमुख कृष्णहरि थापाले कागेश्वरी महादेवको नामबाट नै नगरपालिकाको नाम रहेको बताउदै धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न नगरपालिका विशेष पहल गर्ने बताए । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र रहेको यो स्थान प्राकृतिक सुन्दरताले पनि भरिपूर्ण रहेको छ । प्राकृतिक सौन्दर्यको रसास्वादन गर्न पर्यटकहरु आउने गरेको उनले बताए ।

मेला व्यवस्थापन समिति संयोजक श्याम लामाले धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्ने उद्देश्यले २०० किलो अष्टधातुको कागको मूर्ति स्थापना गरिएको बताए । नगरपालिकाले कागेश्वरी–सुन्दरीमाई–शिवपुरी–गोकर्णेश्वर–नवतनधाम र पशुपतिनाथलाई जोडेर अन्तराष्ट्रिय पशुपति परिपथ निर्माण गर्न विषयमा गृहकार्य गरिरहेको बताएको छ ।

रसुवाको गोसाइँकुण्डमा मेला भर्ने दर्शनार्थीले त्यहाँको पबित्र जल कागेश्वरी महादेवलाई चढाउदा आफ्नो इच्छा पूरा हुने जनविश्वास रहदै आएको छ । कागेश्वरी महादेवलाई धार्मिक सहिष्णुताको प्रतिकको रुपमा लिने गरिएको बताउदै वडा अध्यक्ष गजुरेलले बताए । मेलामा झाक्रीहरु आफ्नै परम्परागत भेष भुसामा सजिएर ढ्यांग्रो बजाउदै उक्त स्थानमा पुग्ने प्रचलन रहदै आएको छ ।

मेला भर्नाको लागि कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापा ,उपप्रमुख बिन्दु सिंखडा पुडासैनी ,नगरपालिकाका प्रवक्ता एबम वडा नं ५ का वडा अध्यक्ष राजाराम पुडासैनी, वडा नं ३ का वडा अध्यक्ष राममणि पुडासैनी वडा नं १ का वडा अध्यक्ष मकुन्द गजुरेल लगायतका जनप्रतिनिधिहरु उपस्थित रहेको थियो ।

कमेन्ट गर्नुहोस्