अपमान इतिहासको : टेकोका भरमा साततले दरबार !

'सरकारी बेवास्ताका कारण सम्पदा नै सकिने खतरा'

नुवाकोट, असोज ७ ।

देशको मुख्य ऐतिहासिक सम्पदाहरुको सूचीमा पर्छ नुवाकोटको साततले दरबार क्षेत्र । विदुर नगरपालिका २ मा पर्ने भूकम्पले भत्काएको  सम्पदाको पुनःनिर्माणमा सरकारको चासो नपुग्दा यसको अस्तित्व नै मेटिने अवस्थामा पुगेकाे छ ।

भूकम्पले भत्काएको ४१ महिनासम्म पनि सम्पदा पुनःनिर्माणमा सरकारको ध्यान नपुग्दा अलिअलि जोगिएको सम्पदाहरु पनि नाश हुन थालेको छ ।

भूकम्पले नुवाकोट दरबार क्षेत्रको मुख्य आकर्षण मानिएको साततले दरवारलाई चिराचिरा बनाएर चर्काएको छ भने रंगमहल, गारद घर, भैरवी मन्दिर, तुलजा भवानीको मन्दिर, नारायण मन्दिर लगायतको सम्पदाहरु भत्काएको थियो ।

भूकम्पले भत्काएको बेलामा खासै क्षति नभएको संरचना पनि भूकम्पपछिको चार बर्खामा स्याहार्न नसक्दा भत्किँदै गएको विदुर नपा २ का वडाध्यक्ष वीरेन्द्रकुमार शाहीले बताए । “भूकम्पछि तत्काल नेपाल सरकारले चासो दिएर भएको सम्पदा जोगाउन मात्र ध्यान दिएको भए अहिलेको जति क्षति हुने थिएन,” वडाध्यक्ष शाहीले भने – “भूकम्पले जीर्ण बनेको सम्पदालाई जोगाउन चासो नदिँदा वर्षातको पानीले भत्कायो ।”

भूकम्पले माथिल्लो एक तला मात्र भत्किएको तुलजा भवानीको मन्दिर रहेको दरबार वर्षात्को पानीबाट जोगाउन नसक्दा भत्किएको छ । गत वर्ष साउनमा मन्दिरको उत्तरपट्टि पाखोको जगैसम्म भत्कियो । “तत्काल पुनःनिर्माण गर्न नसकेको भए पनि भूकम्पले भत्काएपछि मन्दिरभित्र वर्षात्को पानी मात्र रोक्न सकेको भए भत्किने थिएन,” नुवाकोट सम्पदा मञ्चका अध्यक्ष पुष्कर शर्मा रिमालले भने ।

नुवाकोट दरवार क्षेत्रको ऐतिहासिक सम्पदाहरु भूकम्पले कम सरकारको बेवास्ताका कारण बढी भत्किएको स्थानीय बासिन्दाको आरोप छ । भूकम्पले थोरै भत्काएका सम्पदाहरुलाई जोगाउन सरकारको बेलैमा ध्यान नपुग्दा बर्खाको पानीले भत्काउँदै माटोमै मिलाउन थालेको रिमालले बताए ।

भूकम्प गएको चार वर्ष पुग्न लाग्दा पनि नुवाकोटको पुरातात्विक महत्वको सम्पदा कहिले बन्छ भनेर कसैलाई थाहा छैन । वडाध्यक्ष शाहीले भने, – “चीन बनाइदिन्छ भन्ने सुनेका छौं । पुरातत्व विभागका अधिकारीहरु आउँदा पनि चीनले बनाइदिन्छ भन्छन् । तर, कहिले बनाउन थाल्ने हो उनीहरुले नै थाहा नभएको बताउँछन् ।”

याे पनि पढ्नुस  दाम्लो फुकाउनेलाई दश हजार रुपैयाँ !

नुवाकोटका प्रमुख पुरातात्विक, ऐतिहासिक तथा पर्यटकीय स्थलहरुको पुनःनिर्माणले गति लिन नसक्दा अस्तित्व नै समाप्त हुने हो कि भन्न भय सिर्जना भएको छ । भूकम्पपछिका चार बर्खा झेल्नुपर्दा सम्पदा संकटमा परेको हो ।

काष्ठकलामा अनुपम नमूना मानिएको दरबार र मन्दिरमा कुँदिएका कलात्मक टुँडालहरु कुहिसकेका छन् । सयौं वर्ष अघि कुँदिएका यी काष्ठकलालाई जोगाएर भावी पुस्तालाई हस्तान्तरण गर्न नसके आउँदो पुस्ताले पक्कै धिक्कार्ने छ भन्छन् स्थानीय ईन्द्रबहादुर पण्डित ।

भूकम्पले माथिल्लो तला मात्र भत्काएको तुलजा भवानीको मन्दिर भत्किइसकेको छ । यस्तै, साततले दरबारको प्राङ्गणमा रहेको गारद घर पनि भूकम्पले माथिल्लो तला मात्र भत्काएको थियो । बर्खामा जोगाउन नसक्दा गारद घरको अस्तित्व अब माटोमा मिल्न मात्र बाँकी छ । हाम्रा आफ्नो ऐतिहासिक सम्पदा हामी आफैंले पुनःनिर्माण गर्न नसक्ने भएमा विदेशीलाई दिने हो । विदेशीलाई दिने भनिए पनि बेलैमा सरकारले पहल गर्नुपथ्र्यो तर, त्यसो हुन सकेको छैन ।

भूकम्पले जीर्ण बनाएको साततले दरबार टेकोले धानेर अड्याइएको छ । लगातारको झरीका कारण दरबारको छानाका झिँगटी मात्र नभई माथिल्लो तलाका ईंटाहरुसमेत खस्न थालेका छन् । चीन सरकारले बनाइदिने भने पनि कहिलेदेखि यसको काम शुरु हुने हो भन्ने थाहा नभएको पुरातत्व विभागको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख अर्जुन फुयाँलले बताए ।

“चीनले दशैंपछि पुनःनिर्माण थाल्ने भनेको जानकारी आएको छ तर, दशैंपछि साँच्चै शुरुआत होला भन्ने यकिन जानकारी मलाई पनि छैन,” उनले – “यहाँको अवस्थाको बारेमा पटक पटक विभागमा जानकारी गराएको छु । मेरो काम नै जानकारी गराउने र यहाँको भत्किँदै गएको सम्पदाहरु टुलुटुलु हेरेर बस्ने मात्र भएको छ ।”

याे पनि पढ्नुस  झाँक्री बनेर लाखौ ठग्ने पक्राउ

चीनका प्रविधिज्ञहरुले गत वर्ष नुवाकोट दरबार क्षेत्रमा आएर एक सातासम्म सर्वे गरेका थिए । त्यो सर्वेपछि तत्काल दरबारको पुनःनिर्माण हुने आशा पलाएको थियो । भूकम्प गएको केही महिनापछि नै नुवाकोट दरबार क्षेत्रको पुनःनिर्माणमा चीनले सघाउने सार्वजनिक भएको थियो । यो समाचार पढेर दङ्ग भएका स्थानीय बासिन्दा अहिले निराश बनेका छन् । “चाँडै दरबार क्षेत्र भूकम्प प्रतिरोधी संरचनाको रुपमा निर्माण हुने भो भनेर खुशी भएका थियौं तर, अहिलेसम्म पुनःनिर्माणको चालचुल केही छैन,” वडाअध्यक्ष शाहीले भने ।

विदुर नगरपालिकाका उपप्रमुख गीता दाहालले सांस्कृतिक सम्पदाहरुको पुनःनिर्माण तथा संरक्षणका लागि जुनसुकै संस्था जिल्लामा भित्रिए पनि नगरपालिकासँग समन्वय हुन नसकेको दुखेसो पोख्नुभयो । दाहालले पुरातत्व विभाग र चीन सरकारले साततले दरबार तथा भैरवी मन्दिरको अवलोकन गरी पुनःनिर्माण गर्ने चासो देखाएको जानकारी आफूलाई भए पनि संस्थागत रुपमा कुनै जानकारी नभएको र दरबार क्षेत्रका पुनःनिर्माणको कुनै काम शुरु नभएको बताए ।

पृथ्वीनारायण शाहको पालामा निर्मित पुरातात्विक सम्पदा साततले दरबारलाई छिटो भन्दा छिटो पुरातत्व विभागसँग समन्वय गरी पुरानै शैलीमा पुनःनिर्माण गरिदिन स्थानीयवासीले आग्रह गरेका छन् । साततले दरबारभन्दा कैयौं वर्ष पुराना तुलजा मन्दिर लगायतका सम्पदाको पनि तत्काल पुनःनिर्माण हुनुपर्ने उनीहरुको माग छ ।

सम्पदा गाउँ

नुवाकोट दरबार क्षेत्र वरपरको वस्तीलाई पुरातात्विक शैलीमा पुनःनिर्माण गर्ने अभियान नै चलाइएको छ । निजी आवाससमेत पुरातात्विक शैलीमा पुनःनिर्माण भइरहेका बेलामा आफ्नो ठाउँका सम्पदाहरु भने असरल्ल परेको स्थानीयवासी आनन्द श्रेष्ठले बताए ।

दरबार क्षेत्र वरपरका पाँच दर्जन घरहरु पुरातात्विक शैलीमा निर्माण भइरहेको सम्पदा गाउँका सदस्य ध्रुव थापाले बताए । “स्थानीयवासीले थप रकम लगानी गरेर सम्पदा क्षेत्रको स्वरुप झल्कने गरी घरहरु बनाइरहेका छन्,” थापाले भने – “सरकारको बेवास्ताका कारण सम्पदा नै सकिने खतरा बढेको छ ।”

याे पनि पढ्नुस  नुवाकोटको पञ्चकन्या गाउँपालिका प्रमुखमा माओवादी विजयी

दरबार क्षेत्रका घरहरु सम्पदा शैलीमा पुनःनिर्माण गर्दा सरकारले दिने रु तीन लाख अनुदानमा थप रु ५० हजार सहयोग उपलब्ध गराइने छ । यस्ता घर निर्माण गरेका विदुर नगरपालिकाले पनि थप रु ४० हजार अनुदान दिने भएको छ ।

भैरवी मन्दिर अधुरै

नुवाकोट दरबार क्षेत्र चीनले पुनःनिर्माण गरिदिने भने पनि भैरवी मन्दिर भने पुरातत्व विभागले नै पुनःनिर्माण गरिरहेको छ । जिल्लाको प्रमुख मन्दिर तथा प्रमुख मेला लाग्ने थलो भैरवी मन्दिरको पुनःनिर्माण पनि गत असारमै सकिने गरी ठेकेदारसँग सम्झौता भएको हो तर, पुनःनिर्माण अझै सकिएको छैन ।
भूकम्पले भत्काएको मन्दिरको पुनःनिर्माण रु ४ करोड ६० लाख लागतमा हुँदैछ । पुरातत्व विभागका सब–इन्जिनीयर गोविन्द अधिकारीले भूकम्पलगतै झेल्नुपरेको नाकाबन्दी, आकार मिलेका काठ तथा प्राचीन शैलीका ईंटा उपलब्ध गराउन असहजता र ठेकेदारको ढिलासुस्तीका कारण पनि दरबार र दरबार आसपासका मन्दिर निर्माणले गति लिन नसकेको बताए ।

अहिले पुरातत्व विभागले नुवाकोट क्षेत्रको इन्द्रायणी मन्दिर, बूढी देवता, सरस्वती मन्दिर, गणेशस्थानलगायत साना मन्दिरहरु पुनःनिर्माण गरिरहेको छ । नुवाकोट आउने अधिकांश आन्तरिक तथा बाह्य पर्यटकहरु एक पटक साततले दरबार क्षेत्रमा पुग्ने गरेको थिए । भूकम्पले दरबार क्षेत्र तहसनहस बनाएपछि पर्यटकको आगमन निकै घटेको छ ।

साततले दरबारलाई संग्रहालयमा रुपान्तरण गरी पर्यटकका लागि खुला गरिएपछि दरबारको सातौं तलाबाट नुवाकोट र रसुवाका हिमाल, डाँडाकाँडा र फाँटहरु अवलोकन गर्न सकिन्थ्यो तर, अहिले प्रवेश रोकिएको छ । दरबार अवलोकनका लागि अहिले कोही पर्यटक नआउने गरेको साततले दरबार संग्रहालयका कर्मचारी रोजिना श्रेष्ठले बताए ।

भूकम्प अघि दरबार अवलोकन गर्न मात्रै वर्षमा २० हजार भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक आउने गर्थे । त्यसमा कतिपय रसुवाको लाङटाङ क्षेत्रमा घुमेर आउने विदेश पर्यटक हुन्थे । रासस

कमेन्ट गर्नुहोस्