क्यान्सर अस्पताललाई अन्तर्राष्ट्रियस्तरको उपचार केन्द्र बनाउनुपर्छः सभामुख महरा

चितवन, असोज १० । सभामुख कृष्णबहादुर महराले यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई अन्तर्राष्ट्रियस्तरको उपचार केन्द्रको रुपमा विकास गर्नुपर्ने बताएका छन् ।

अस्पतालको १९औंँ वार्षिकोत्सव तथा १४ औँं राष्ट्रिय क्यान्सर सतर्कता दिवसका अवसरमा बुधबार यहाँ आयोजित कार्यक्रममा बोल्दै उनले नेपालको मात्र नभएर यस अस्पताललाई अन्तर्राष्ट्रियस्तरको नमूना अस्पतालको रुपमा विकास गर्नुपर्ने बताए ।

सभामुख महराले चीन सरकारको सहयोगमा बनेको यस अस्पतालमा उपचारसँगै अध्ययन अनुसन्धान, पठनपाठन समेत गराउनुपर्ने बताए ।

याे पनि पढ्नुस  अर्थमन्त्री महराको खुलासा-‘पैसा बाकसमा राखेर मन्त्रीहरु चाबी लाएर हिडे’

क्यान्सर अस्पताललाई नमूना अस्पतालको रुपमा विकास गर्न आफूले पहल गर्ने बताए । सरकार, निजी क्षेत्र र समुदाय मिलेर अस्पताल विकास गर्नुपर्ने उनको भनाइ थियो ।

सभामुख महराले भने, ‘विकास निर्माण, देशव्यापी रुपमा भएका सामाजिक, सांस्कृतिक विकृति, विसंतिका कुरा पनि छन्, यसप्रति संसद् असाध्यै सतर्क छ, ती विषयलाई ध्यानाकर्षण गर्न मेरो तर्फबाट कुनै कसर बाँकी हुने छैन ।’

कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले अस्पताललाई नमूना बनाउनुपर्ने बताए । उनले विदेशी समेत उपचार गर्न आउने यस अस्पताललाई अध्ययन अनुसन्धान केन्द्रको रुपमा विकास गर्नुपर्ने बताए ।

याे पनि पढ्नुस  महराद्वारा अन्तर्राष्ट्रिय समुदायलाई धन्यवाद

सो अवसरमा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला नेता तेजेन्द्र खड्का, नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, संघीय समाजवादी फोरमका जिल्ला अध्यक्ष प्रेम भुजेल, अस्पतालका निवर्तमान अध्यक्ष डा.प्रकाशराज न्यौपाने, क्यान्सर सेवा समाजका अध्यक्ष चिजकुमार मास्के लगायतले बोलेका थिए ।

कार्यक्रममा अस्पताललाई उल्लेखनीय योगदान पुर्याएको भन्दै अस्पतालका निर्वतमान अध्यक्ष डा प्रकाशराज न्यौपाने, क्यान्सर सेवा समाजका निवर्तमान अध्यक्ष श्यामप्रसाद लामिछाने सहित विभिन्न विभागका कर्मचारीलाई सम्मान गरिएको थियो ।

याे पनि पढ्नुस  चुनावपछि मुलुक समृद्विको बाटोमा लाग्छ : महरा

वि.सं २०५७ असोज १० गतेबाट औपचारिक रुपमा सेवा दिन थालेको क्यान्सर अस्पतालमा हाल ४५० श्यया सञ्चालनमा रहेको कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यले बताए । नेपालमा क्यान्सर अस्पताल स्थापना भएको आजको दिनलाई राष्ट्रिय क्यान्सर सतर्कता दिवसको रुपमा मनाउने गरिन्छ । रासस

कमेन्ट गर्नुहोस्