पिसाबमा इन्फेक्सन भएका कारण कैदीको मृत्यु

राजविराज– सप्तरीको राजविराजस्थित जिल्ला कारागारका एक कैदीको आइतबार राति मृत्यु भएको छ। छिन्नमस्ता गाउँपालिका–५, लोखरमका ३८ वर्षीय सन्तोष साहको राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको निमित्त जेलर सत्यनारायण यादवले बताए।

पिसाबमा इन्फेक्सन भएका कारण साहको मृत्यु भएको कारागारले जनाएको छ।

अत्यधिक ज्वरोले ग्रस्त साहलाई अस्पताल लगेर उपचार गराउँदै ल्याउने गरिएको थियो। तर, पछिल्लो पटक भने उपचारकै क्रममा उनको मृत्यु भएको यादवले जानकारी दिएका छन्।

गत शनिबार १०४ डिग्री ज्वरो आएपछि औषधि उपचारपश्चात् सामान्य हुँदै गएका साह आइतबार पुनः सिकिस्त भएका थिए। दिउँसो २ बजे उनलाई अस्पताल भर्ना गरिएकोमा राति सवा ९ बजे मृत्यु भएको यादवको भनाइ छ।

चोरी मुद्दामा ९ लाख धरौटी बुझाउन नसकेपछि जिल्ला अदालत राजविराजको आदेशमा गत २०७४ माघ २८ गते साहलाई कारागार चलान गरिएको थियो। साहसहित ४ जना कारागार चलान भएका थिए। जसमध्ये २ जना धरौटी बुझाएर रिहा भएको र राजविराज ४ का २८ वर्षीय मुरली साह बाँकी रहेको जेलर यादवले जानकारी दिए।

Swasthyakhabar बाट

कमेन्ट गर्नुहोस्