अब ज्येष्ठ नागरिकको अपमान गरे सुविधा बन्द !

भक्तपुर, असोज १५ । ज्येष्ठ नागरिक अपमान गर्नेलाई सूर्यविनायक नगरपालिकाबाट प्रदान गर्ने सबै सेवा सुविधा बन्द गर्ने भएको छ ।अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा नगरपालिकाले आज यहाँ आयोजना गरेको ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा नगरपालिकाले यस्तो निर्णय घोषणा गरेको हो ।

 

नगरपालिका प्रमुख वासुदेव थापाले भने, ‘यस नगरपालिकाका बासिन्दाले आफ्ना बाबुआमा र ज्येष्ठ नागरिकलाई अपमान गरेको, रेखदेख र पालनपोषण नगरेको प्रमाणित भएमा त्यस्ता नागरिकलाई नगरपालिकाले दिने सेवासुविधाबाट वञ्चित गरिनेछ, यो निर्णय आजैदेखि लागू भएको छ ।’

 

नगरपालिकाले ज्येष्ठ नागरिकका लागि चौतारो, जमघटका लागि आश्रयस्थल बनाउने बताउँदै उनले यस नगरपालिकाभित्र कुनै पनि ज्येष्ठ नागरिकले अपमान भएर बस्नुपर्ने अवस्थाको अन्त्य गर्ने दृढता व्यक्त गरे ।

 

प्रमुख थापाले ढुङ्गाको देवतालाई पुज्नुभन्दा आफ्नो आमाबाबुलाई पुज्दा धर्म हुने बताउँदै आमाबाबु र ज्येष्ठ नागरिक देवतासरह हुने धारणा व्यक्त गरे ।

 

कार्यक्रममा नगरपालिकाले घोषणा गरेको यो निर्णय पत्रको अनावरण गर्दै प्रदेश नं ३ का प्रदेशसभा सदस्य शशीजंग थापाले नेपालमा २५ लाख ज्येष्ठ नागरिक रहेको र त्यसमध्ये पनि १० लाखले सामाजिक सुरक्षा भत्ता लिइरहेको बताए । -रासस

कमेन्ट गर्नुहोस्