अझै रोकिएन बालबिवाह

‘प्रेम सम्बन्ध, देखासिकी, मोबाइल, फेसबुकको दुरुपयोग, गरीबीजस्ता कारणले बालविवाह हुने गरेको छ ।’

जिल्लामा प्रमुख सामाजिक समस्याको रुपमा रहेको बालविवाह न्यूनीकरणका अभियान सञ्चालन भएपनि बालविवाह रोकिएको छैन । जिल्ला अदालत प्यूठानमा आर्थिक वर्ष २०७४-०७५ मा १२ वटा बाल विवाहका मुद्दा दर्ता भए । २० वर्ष उमेर पुरा नभर्इ गर्ने विवाहलाई कानुनले अपराध मानेको छ । मुलकी अपराध (संहिता) ऐन २०७४ ले बालविवाह स्वत: बदर हुने नयाँ व्यवस्था गरेको छ । नयाँ ऐन भदौ १ गतेदेखि कार्यान्वयनमा आएपछि पनि एउटा बाल विवाहको मुद्धा जिल्ला अदालतमा दर्ता भएर फैसला भएको छ ।

जिल्ला बालकल्याण समितिले २०७२ सालमा गरेको अध्ययनको आधारमा जिल्लामा ४५ प्रतिशत बालविवाह रहेको छ । जिल्लामा बालविवाह अन्त्यका लागि रणनीतिक योजना समेत बनेको छ । २०७८ सम्म बालविवाह अन्त्य गर्ने लक्ष्य छ, अधिकारकर्मी यादप खनालले भने, त्यही रणनीतिक योजना अन्तर्गत अभियान सञ्चालन भइरहेका छन् । स्थानीय तहहरुले बजेट विनियोजन गरि कार्यक्रम गर्दै आएको उनको भनाई छ ।

नियमितरुपमा बालबालिकाको विषयमा कार्यक्रम चलिरहेका छन्, उनले भने, विभिन्न क्षेत्रबाट सचेतनामुलक कार्यक्रम भइरहेका छन् । बालविवाह न्यूनीकरणका लागि सचेतनामुलक कार्यक्रम र कानूनी कारबाहीलाई सँगसगै अगाडि बढाउनुपर्ने उनको धारणा छ । सचेतनामुलक कार्यक्रममात्रै गरेर पनि बालविवाह रोकिएन, उनले थपे, सचेतनामुलक कार्यक्रमसँगै कानुनी कारवाहीलाई पनि अगाडी बढाउनुपर्यो ।

जिल्लामा अहिलेसम्म ६४ वडामध्ये दुईवटा वडामात्र बालविवाह मुक्त वडा घोषणा भएको छ । मल्लरानी गाउँपालिकाको ३ र स्वर्गद्वारी नगरपालिकाको ५ नम्वर वडा बालविवाह मुक्त घोषणा गरिएको छ । स्थानीय तहले आ–आफ्नो तरिकाले बालबालिका सम्वन्धी बजेट विनियोजन र कार्यक्रम गर्दै आएका छन् ।

‘पछिल्लो समय बालविवाह न्यूनीकरण भएको छ तर बाल विवाह हुन छाडेको छैन’, जिल्ला बालकल्याण समिति प्यूठानका सदस्य जुमानसिंह केसी भन्छन्, ‘घटना बाहिर आउने र मुद्दा दर्ता हुन थालेको छ ।’ बालविवाह विरुद्धको सचेतनामुलक कार्यक्रम र अभियानमा अहिले कमी आएको उनको भनाई छ ।

बालबालिको सवालमा पहिले बढी बजेट विनियोजन र कार्यक्रम हुने गथ्र्यो, उनले भने, नयाँ संरचना भएपछि प्रभावकारी रुपमा बजेट विनियोजन र नीतिको अभाव देखिएको छ । बालकल्याण समितिले बनाएको रणनैतिक योजना अनुसार कार्यक्रम हुन नसकेको उनको भनाई छ । स्थानीय सरकार बालबालिकाको सवालमा गम्भीर बनेर बाल विवाह न्यूनिकरणको अभियानमा लाग्नुपर्नेमा उनले जोड दिए । बालविवाह न्यूनिकरण गर्ने खालका कार्यक्रम ठाउँ विशेष अनुसार सञ्चालन गर्नुपर्छ, उनले भने, यसरी अभियान चलाएमा बाल विवाह न्यूनीकरण गर्न सकिन्छ ।

जिल्लामा प्रेम सम्बन्ध, देखासीकी, मोबाइल, फेसबुकको दुरुपयोग, गरीवी जस्ता कारणले बाल विवाह हुने गरेको अध्ययनले देखाएको छ । विवाह गरेपछि राम्रो लगाउन, मिठो खान पाइने सोंच, नीति तथा कानूनी प्रावधानबारे चेतना अभाव, स्वास्थ्यमा हुने समस्याका बारेमा जानकार नहुँदा कम उमेरमा विवाह गर्ने भेटिएको अधिकारकर्मी यादप खनाल बताउँछन् ।

जिल्ला बाल सञ्जाल प्यूठानका अध्यक्ष प्रेम विकले बाल विवाह रोक्नका लागि स्वयं बालबालिका नै सेचत हुनुपर्ने बताउँछन् । बालविवाहले बालक र बालिका दुवैलाई असर गर्ने हो, अध्यक्ष विकले भने, त्यसैले बालविवाह हुन नदिन हामी जिम्मेवार बन्नुपर्छ । उनले बालबालिकाहरु आफ्नो अध्ययन र हकअधिकार प्राप्तिका लागि अगाडी बढ्नुपर्ने बताए । स्थानीय तहहरुमा बाल सञ्जाल गठन गरि बाल विवाह न्यूनिकरणको अभियान चलाइएको उनको भनाई छ ।

बालविवाह रोक्ने संकल्पका साथ सरकारी, गैरसरकारी तथा दातृ निकायले कार्यक्रम गरिरहेका छन् । जिल्लाको प्रमुख सामाजिक मुद्धा बाल विवाह रोक्नका लागि विभिन्न क्षेत्रबाट पहल भईरहेको छ । स्थानीय तह, जिल्ला बालकल्याण समिति, तत्कालिन महिला तथा बालबालिका कार्यालय, सेभ द चिल्ड्रेन, संयुक्त राष्ट्र संघीय जनसंख्या कोष लगायत निकायले अभियान सञ्चालनमा सहयोग गर्दै आएका छन् ।

प्यूठानमा बालविवाहले शिक्षा, स्वास्थ्यमा असर गर्नुको साथै लैंगिक हिंसा समेत बढाएको संयुक्त राष्ट्र संघीय जनसंख्या कोषका जिल्ला कार्यक्रम विज्ञ प्रेमनारायण श्रेष्ठ बताउँछन् । ‘कम उमेरमा विवाह गरेका बालबालिकाले बच्चा पनि कम उमेरमै जन्माउने गरेका छन्’, उनले भने, ‘जसले गर्दा पाठेघर खस्ने समस्या भएको छ ।’

कम उमेरमा बच्चा जन्माउदा शिसुको हेरचाह गर्न नसक्ने, परिवार नियोजनको साधन प्रयोग नगर्ने समस्या रहेको उनले बताए । कोष मार्फत किशोरकिशोरी लक्षित कार्यक्रम सञ्चालन गरि जनचेतना जगाउने काम गरेको उनको भनाई छ । सानो उमेरमा बाल विवाह हुन नदिन चेतनामुलक कार्यक्रम गर्ने गरेका छौं, उनले भने, किशोरकिशोरी मैत्री स्वास्थ्य संस्थामा जोड दिएका छौं।

बालविवाह अन्त्य गर्ने अभियान अन्र्तगत २०७६ माघ ११ गते बालविवाह मुक्त गाउँपालिका घोषणा गर्ने गरि ऐरावती गाउँपालिकाले प्रतिवद्धता जनाएको छ । बालविवाह अन्त्यका लागि संकल्प सम्मेलन गरि गाउँपालिकाले २०७४ माघ ११ गते आफ्नो प्रतिवद्धता सार्वजनिक गरेको हो ।

प्यूठानको बाल विवाहको समस्यालाई लक्षित गर्दै अभियन्ता नरबहादुर कार्की र रेखा थापाले देशव्यापी रुपमा सञ्चालन गरेको ‘छोरीका निम्ती स्वर्णिम नेपाल अभियान’ प्यूठानमा पनि सञ्चालन गरेका छन् । अभियान देशभरका स्थानीय तहसम्म पुर्याएर बालविवाह अन्त्यका लागि कार्यान्वयन गर्न पहल गर्ने कार्कीको भनाई छ ।

सौजन्य : बाल सरोकार फिचर सेवा, एफएनजे, प्यूठान

बाल विवाह अन्त्यका लागि ऐरावती गाउँपालिकाले २०७४ माघ ११ गते गरेको सम्मेलनमा बालबालिकालाई बाल विवाह नर्ग आग्रह गर्दै जिल्ला बाल सञ्जाल प्यूठानका अध्यक्ष प्रेम विक ।

तस्विर : सुजल श्रेष्ठ, प्यूठान

कमेन्ट गर्नुहोस्