युएईको भिजिट भिषा र कामको आश थोरै सत्य धेरै भ्रम

सुशान आचार्य

भिजिट भिषा ।सिधा भाषामा भन्नुपर्दा कुनैपनि देशमा निश्चित समय अबधिका लागि भ्रमण गर्न जारी गरिएको भिषा । नेपालीमा पर्यटन भिषा भनेर पनि बुझ्न सकिन्छ । यस्तो भिषा सरकारले अनुमति दिएको सबै देशमा भ्रमण गर्न जानको लागि अनिवार्य छ।

पछिल्लो समय युएईको भिजिट भिषाबारे व्यापक चर्चा भइरहेको छ । ७ वटा राज्य रहेको युएईमा झन्डै ३ लाखको हाराहारीमा नेपालीहरु कार्यरत छन्।त्यसमा पनि सबैभन्दा धेरै नेपालीहरु दुबई राज्यमा रहेका छन् ।

वैदेशिक रोजगारीमा जाने नेपालीको पहिलो गन्तव्य नै बन्न लागिसकेको युएईमा पछिल्लो समय भने यही भिजिट भिषाको कारण धेरै नेपालीहरु अलपत्र मात्रै परेनन् लाखौ रुपैयाँ डुबाएर अनेकौं दुख कष्टका साथ स्वदेश फर्किएका पनि देखिएको छ।

कसरी आउँछन नेपालबाट भिजिट भिषामा नेपाली ?

सुरुमा युएई आउन विभिन्न मेनपावर एजेन्सीमा पासपोर्ट बोकेर जान्छन् र त्यहा युएईका कम्पनीको डिमाण्ड बारे बुझ्छन । कहीं भने जस्तो डिमाण्ड पाउँदैन त कहीं पाएपनि भनेजस्तो तलब सुबिधा नभएपछि उनिहरु मेनपावर एजेन्सि धाउन छाड्छन।

त्यसपछि अब उनीहरुको रोजाइ भिजिट भिषामा जान्छ । युएईमा भिजिटमा पठाएर पनि काम दिउलाने ट्राभल्स एजेन्सीको खोजीमा हिड्छन । कोही साथीभाइको सम्पर्कबाट त कोही आफैले बुझेर ट्राभल्सको सम्पर्कमा पुगेपछि अब उनीहरुको एउटै कुरा हुन्छ हामी जसरी पनि युएई जान चाहन्छौ त्यहाँ पुगेपछि काम मिलाइदिनुपर्छ । ट्राभल्सको नाममा मानव तस्करी गर्न दलालहरुलाइ त अब ‘के खोज्छस काना आँखा’ भनेझै हुन्छ । उनीहरुको पासपोर्ट सहित कागजात लिन्छन् र पैसाको बार्गेनिङ सुरु गर्छन् ।

पैसा पनि उनीहरुले मान्छेअनुसार लिन्छन ।

नेपालबाट युएईमा भिजिट भिषामा आउदा टिकट सहित लगभग ७३ हजार रुपैयाँ खर्च हुन्छ। यो भिषा तीन महिनाको लागि हुन्छ । त्यस्तै एक महिनाको लागि लागि आउँदा लगभग ५० हजार रुपैयाँ खर्च हुन्छ । तर, ती दलालहरुले सोझा सिधा गाउँलेहरुलाइ फसाएरै छाड्छन । उनीहरुबाट ब्यक्तिअनुसार २ देखि ५ लाख रुपैयाँसम्म असुल गरेकै हुन्छन् ।

रकम असुल सकिएपछि अब ट्राभल्सका दलालहरुले अध्यागमन सेटिङ मिलाउन थाल्छन्।

‘सेटिङ पनि यस्तो सम्म भेटियो कि नक्कली श्रम स्टिकरमा समेत छाप हानेर पठाउछन ।’सरकारले बैधानिकरूपमा भिजिट भिषामा युएई आउन बन्द गरेपछि दलालहरुले यसैको फाइदा उठाएका छन ।

यस्तो हुनुमा सरकारी सम्यन्त्रको पनि कमजोरी छ । फितलो अध्यागमन र घुसखोरी कर्मचारीको लापरबाही त यस्को पहिलो कारण बन्न जान्छ ।

दलालहरुको सेटिङ पूरा भएपछी अब उनिहरु युएई आउने पक्का हुन्छ । सुनौलो सपनाको पोको बोकेर युएई आएका उनिहरु तबमात्र झस्कन्छन जब युएईमा अलपत्र पर्छन् ।

भिजिटमा युएई आउँदा राम्रो काम पाइन्छ । थोरै सत्य धेरै भ्रम ।

नेपालबाट भिजिट भिषामा युएई आएर भनेजस्तो काम पाइने, सेवा सुबिधा र कमाइ पनि राम्रो हुने सपना केबल गन्न सकिने ब्यक्तिहरुका लागि मात्रै सत्य साबित हुन्छ।

बाँकी सबै भ्रममा परेका हुन्छन् । दलाललाई नेपालमै लाखौं रुपैयाँ बुझाएर ठगिएका उनीहरु युएईमा आए पश्चात् पनि अनेकौं दु:खकष्टमा परेको देखिन्छ ।

राम्रो काम र कमाइ हुन दलालको चिल्ला कुरा हैन योग्यता र दक्षताको आवश्यकता पर्छ।राम्रा कम्पनीले कामदार पनि गुणस्तरीय नै लिन्छ ।

जोसँग कामको अनुभव छैन योग्यता र दक्षता छैन उस्ले स्वभाबिकरूपमा राम्रो काम पाउन सक्दैन ।अब उनीहरुको सपना टुट्दै जान्छ। नेपाल बाट युएई पठाउने हर्यक ट्राभल्सको युएईमा पनि एउटा एजेन्ट हुन्छ ।नभए पनि कुनै एजेन्ट खोजेर नेपाल बाट आउनेलाई काम लगाउन ठेक्का दिइएका हुन्छन् ।

जब उनिहरु आउँछन तब उनीहरुको साथमा भएको रकम पनि दलालले लिएरै छाड्छ। अब दलालको काम उनीहरुलाई काम खोजेर लगाउने हो।

काम पनि गुणस्तरीय हैन कसैलाई क्लिनर ,कसैलाई हेल्पर,कसैलाई कन्स्ट्रक्सनतिर त कसैलाई रोड सफा गर्न । भर्खरै नेपाल बाट लाखौं रुपैयाँ बुझाएर आयका उनीहरु खाडिको गर्मी त्यही माथी गार्‍हो र अफ्ट्यारो काम गर्नुपर्दा आत्तिएका हुन्छन् ।दलाललाई अर्को काम खोज्न भन्छन् । अब दलालले उनीहरुलाइ धम्क्याउन थाल्छ । भर्खरै आएका उनीहरुसंग वर्क परमिट पनि हुदैन ।

भिजिट भिसाको समय अबधि पनि सकिन्छ उनीहरु अबैधानिक बन्छन् । त्यसैले दलालसँग प्रतिवाद गर्न सक्ने उनीहरुसँग कुनै आधार पनि हुदैन । न त पैसा बुझाएको कुनै आधिकारिक कागजात नै हुन्छ।अब उनीहरु आफूलार्इ अलपत्र परेको महसुस गर्न थाल्छन् ।

गाउँबाट लाखौं ऋण गरेर कमाउन आएको न काम न पैसा।

मानसिक तनाव संगै उनिहरु स्वदेश फर्किन चाहन्छन् । कतिपयको एजेन्ट त पहिले नै सम्पर्कबाहिर भइसकेको हुन्छ । उनीहरु आफुलाइ स्वदेश फर्काउन हारगुहार गर्छन् । कतिपयले त घरबाटै पैसा मागेर पनि फर्किएका छन भने धेरै चाहिँ युएईमा कार्यरत नेपाली र विभिन्न संघ सस्थाको सहयोगमा स्वदेश फर्किन्छन् ।

धन्न नेपालीको मन चाहिँ दयालु छ । सहयोग गर्नुपर्छ भन्ने भावना छ । यस्तो अबस्थामा अरु देशका नागरिक हो भने युएईमा वर्षौ वर्षसम्म अलपत्र भएनी कसैले कसैलाई सहयोग र उद्दार गर्ने कुरै आउँदैन । यस्ता उदाहरण धेरै छन् ।जसोतसो नेपाल फर्किन पाएका उनीहरु अब सोच्न थाल्छन भिजिट भिषामा युएई जादा राम्रो काम थोरै सत्य धेरै भ्रम ।

वास्तवमा भिजिट भिषामा युएई आएर काम गर्दै यतै लुकेर बस्नेहरु नेपालको अध्यागमनको रेकर्डमा अबैधानिक हुन् ।

उनीहरुको केही गरी मृत्यु भएमा वा दुर्घटनामा परी घाइते भएमा उनीहरुले पाउने क्षतिपुर्ति र बिमाबाट उनीहरु वञ्चित हुन्छन् । न त विदेशस्थित कुटनीतिक नियोगले उनिहरुको हकहितमा कुनै ठोस कदम नै चाल्न सक्छ । त्यसैले पनि भिजिटमा आएर काम गर्दै बसेका हरु जोखिममा हुन्छन् ।

भिजिट भिषालाई मापदण्ड बनार्इ खुल्ला गर्नुपर्छ 

बिदेशमा घुम्न जान पाउने सबैको अधिकार हुन्छ । सरकारको अनुमतिअनुसार बैधानिकरूपमा विदेश भ्रमणमा जान चाहनेलाई रोक्नुहुँदैन । तर भिजिट भिषाको नाममा हुने सेटिङ र मानव तस्करी लाई चाहिँ सरकारले रोक्नैपर्छ । यसका लागि पहिलो कदम अध्यागमनमा हुने सेटिङ माथी कडाइ गरी घुसखोरी कर्मचारीलाई तत्काल कारबाही गर्न जरुरी छ।्

यस्तै भिजिट भिषाको पनि स्पष्ट मापदण्ड हुनुपर्छ । भिजिट भिषा केवल भ्रमणका लागि मात्रै बनाउनुपर्छ।

युएईमा रहेको कुनै ब्यक्तिले भिजिटमा भिजिटमा आफ्नो आफन्त वा साथिभाइ लाई ल्याउन चाहेमा दूतावासबाट अनुमति लिएरमात्रै ल्याउने र आउने ब्यक्तिको बिवरण बुझाएरमात्रै ल्याउने साथै समय अबधी भित्रै फर्काउने सर्तमा ल्याउन दिनुपर्छ ।त्यसमा दूतावासले पनि निगरानी गर्नुपर्छ र कडाइ पनि ।

भिजिट भिषामा आउने र ल्याउने को आर्थिक अवस्था बारे पनि बुझ्न जरुरी छ ।

एउटा सामन्य जीवन बिताउने ब्यक्ति जो बेरोजगार छ आम्दानीको बलियो स्रोत छैन भने उस्ले लाखौ रुपैयाँ खर्च गरेर बिदेश घुम्ने हैसियत राख्दैन ।यसको मतलब धनिले मात्रै बिदेश भ्रमण गर्न मिल्छ भन्ने चाहिँ हैन।

भिजिटमा युएई पुगेको ब्यक्ति समयमा नफर्किए अथवा लुकेर युएईमा नै बसेमा पनि युएईको अध्यागमनले भिजिट भिषामा गयका लाई वर्क पर्मिट नदिने हो भने भिजिट भिषाको नाममा मानव तस्करी गर्न दलालहरुको ब्यबसाय आफै सुकेर जाने निश्चित छ ।

तसर्थ स्सरकारले भिजिट भिषा सम्बन्धि स्पस्ट मापदण्ड तयार गरि भिजिट लाई भिजिटमा नै सिमित राख्दै युएईको नेपाली श्रम बजार लाई मर्यादित र ब्यबस्थित बनाउन आवश्यक छ।

कमेन्ट गर्नुहोस्