झलनाथ खनालद्वारा आफ्नै गुट बनाउने धम्की, सरकार असफल भएको आरोप

काठमाडौं, असोज १६ ।

नेपाल कम्युविष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले जनअपेक्षा पूरा गर्न सरकार असफल भएको आरोप लगाएका छन् ।

नेता खनालले नागरिकले चाहेको, खोजेको र उनीहरुको जनजीविका सहज बनाउनेतर्फ काम गर्नुपर्ने प्रमुख दायित्व बोकेको सरकारले जनविश्वास गुमाउँदै गएको र दुई तिहाई शक्तिको सदुपयोग भएको बताए ।

आफ्नो पार्टीको नतृत्वमा सरकार गठन भएको पनि ७ महिना पूरा भइसक्दापनि नागरिकमाझ पार्टीले विश्वासको आधार खडा गर्न नसकेको आरोप लगाए । उनले पार्टी पनि विधि र नीतिबाट नचलेको दावी गरे ।

 

उनले पार्टीले आफ्नो बरियता खोसेर आफुमाथि अन्याय गरेको बताए । उनले भने, ‘पार्टी औपचारिक रुपमा एक भएको घोषणासभामा म उपस्थित हुन पाइनँ । त्यो मेरो लागि ऐतिहासिक क्षण गुमेको हो । मेरो पनि उपस्थितिमा पार्टी एकता घोषणा गर्न पाइएको भए भन्ने लाग्छ मलाई । तर त्यो समय बितिसकेको छ । पार्टी एकता हुँदै गर्दा जुन रुपले सचिवालय बनाइयो, त्यसमा मलाई अन्याय गरियो । मेरो वरीयता नै मिच्ने काम भयो । वास्तबमा यो नेकपाभित्र भएको सबैभन्दा ठूलो अन्याय हो ।’

नेता खनालले पार्टी कमिर्टीको नियमित बैठक बस्न नसक्दा अहिले विभिन्न नेताहरुले आआफ्ना गुटको कसरत गरेकोमा चिन्ता व्यक्त गरे । उनले आफु कहिल्यै गुट, उपगुटको कसरतमा नलागेको जिकिर गरे । उनले भने, ‘पार्टीभित्र मौलाउने गुटबन्दीले पार्टीलाई खोक्रो बनाउँछ । सबैले गुट बनाउने खालको मात्रै कुरा गर्ने र पार्टीमा गुटैगुट भयो भने त्यो बेला मैले पनि सोच्नु पर्ने स्थिति आउन सक्छ । गुट बनाउनुपर्यो भने त म सबैभन्दा ठूलो गुट बनाउँछु ।’

एकीकृत नेकपा, राष्ट्रव्यापी नेकपा, जनव्यापी नेकपा, शक्तिशाली नेकपा र एउटा ज्यूँदो नेकपा निर्माण गर्न आफु प्रतिबद्ध रहेको नेता खनालले बताए ।

कमेन्ट गर्नुहोस्