नेविसंघको अराजक आन्दोलनः कर्मचारी र पत्रकार कुटिए, गाडी तोडफोड

भीमदत्तनगर, असोज १६ । कञ्चनपुरको भीमदत्तनगरमा नेपाल विद्यार्थी संघका कार्यकर्ताले यहाँस्थित जिल्ला सरकारी वकिल कार्यालयमा मंगलबार तोडफोड गर्नाका साथै कर्मचारीमाथि हातपात गरेका छन् ।

 

नेविसंघले भीमदत्तनगरपालिका-२ खोल्टीका १३ वर्षीया निर्मला पन्तको हत्यारा पक्राउ गर्न माग गर्दै आज एकदिने कञ्चनपुर बन्दको आह्वान गरेको थियो । बन्द अवज्ञा गरेको भन्दै नेविसंघ कार्यकर्ताले जिल्ला सरकारी वकिल कार्यालयमा कार्यरत नायब सुब्बा कृष्णदत्त भट्ट, अपरेटर मञ्जु भट्ट र कार्यालय सहायक धनवीर भाटमाथि हातपात गरेका हुन् । साथै कार्यालय परिसरमा रहेको बा २ झ २७१५ नम्बरको कारसमेत तोडफोड गरिएको छ ।

 

भीमदत्तनगरमा प्रदर्शन गर्दै आइरहेका नेविसङ्घ कार्यकर्ताले बन्दमा कार्यालय किन खोलेको भन्दै कुटपिट र तोडफोडमा उत्रिएको सरकारी वकिल कार्यालयका कार्यालय सहायक भाटले बताए । कार्यालयभित्रै प्रवेश गरेका आन्दोलनकारीले कार्यालयमा समेत तोडफोड गरेका छन् ।

 

सरकारी वकिल कार्यालयमै समाचार सङ्कलन गरिरहेका ‘सगरमाथा टेलिभिजन’का जिल्ला संवाददाता चन्द्रकान्त जोशीमाथि पनि तिनले हातपात गर्दै क्यामेरा फुटाएका छन् ।

 

पत्रकार जोशीले कार तोडफोड गरिरहेको दृष्य छायाङ्कनका क्रममा नेविसंघ कार्यकर्ताले आफूमाथि हातपात गर्दै क्यामेरा फुटाएको बताए ।
पन्त हत्या घटना भएको लामो समय बितिसक्दा पनि हत्यारा कानूनी दायरामा ल्याउन नसकेको भन्दै बन्द गरिएको नेविसंघ कञ्चनपुरले जनाएको छ । -रासस

कमेन्ट गर्नुहोस्