स्थायी राजधानीका लागि विराटनगर पूर्वाधारयुक्त शहरः मन्त्री पण्डित

विराटनगर, असोज १४ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रदेश नं १ को स्थायी राजधानीका लागि विराटनगर भौतिक पूर्वाधारयुक्त शहर भएको बताएका छन् ।

 

उद्योग संगठन मोरङ र मोरङ व्यापार संघद्वारा मंगलबार आयोजित छलफल कार्यक्रममा उनले स्थायी राजधानी निर्माणको अवधारणाबाट यस क्षेत्रमा विभिन्न कार्यालय, विकास आयोजनाका कार्यालय स्थापनालगायत विकास निर्माणका कार्य शुरु गरिएकाले विराटनगर नै उपयुक्त रहेको बताए ।

 

मन्त्री पण्डितले उच्च अदालत भएको स्थानमा स्थायी राजधानी तोक्ने व्यवस्था भएकाले भविष्यको राजधानी घोषणा हुने स्थानमा नै उच्च अदालत रहेको प्रष्ट पारे । उनले राजनीतिक पार्टीका नेताहरुले आफ्नो क्षेत्रका जनताका लागि बोल्नुपर्ने हुनाले नै प्रदेशसभा, मन्त्रालय र राजधानी अलगअलग जिल्लामा राख्ने सम्बन्धमा चर्चा आएको प्रष्ट पारे ।

 

मन्त्री पण्डितले निर्यातमुखी उद्योगको स्थापना गरी मुलुकको व्यापार घाटा न्यूनीकरणका लागि उद्योगीहरुलाई आग्रह गर्दै त्यस प्रकारका उद्योग स्थापनामा वर्तमान सरकार सहयोगीको भूमिका निभाउने बताए ।

 

उनले करको विषयमा कार्यदल बनाएर अध्ययन भइरहेकाले चाँडै निष्कर्षमा पुग्ने बताउँदै दायराभन्दा बाहिर गएर कर असुल्ने विषयमा कडाइका साथ रोक लगाएको जानकारी दिए । -रासस

कमेन्ट गर्नुहोस्