नेतृत्व टुंगो लागेसँगै नेकपाका प्रदेश पदाधिकारीले काम थाले

काठमाडौं, असोज १७ । नेकपाका प्रदेश नेतृत्वले काम थालेका छन् । पार्टीले साताअघि प्रदेश नेतृत्व टुंग्याएको हो । छनोट प्रक्रियाप्रति वरिष्ठ नेता माधवकुमार नेपालले असहमति जनाए पनि प्रादेशिक संरचना एकीकृत रूपमा क्रियाशील हुन थालेका छन् ।

 

आफ्नो अनुपस्थितिमा निर्णय भएको भन्दै नेपालले त्यसलाई सच्याउनुपर्ने माग गरिरहेका छन् । यही विषयलाई लिएर नेकपाभित्र शीर्ष नेताहरूबीच विवादसमेत बढेको छ । प्रादेशिक नेतृत्व भने शीर्ष नेताहरूको विवादमा पर्न चाहेका छैनन् । उनीहरूले सचिवालयको सर्कुलरअनुसार काम थालेका छन् । ‘हामीलाई प्रदेश कमिटीलाई पूर्णता दिने र जिल्ला कमिटी एकीकरण गर्ने जिम्मेवारी छ,’ प्रदेश २ का इञ्चार्ज सत्यनारायण मण्डलले भने ।

 

सुदूरपश्चिम प्रदेशका पदाधिकारीले तत्कालै प्रदेशस्तरीय कार्यकर्ता भेला गर्ने निर्णय गरेका छन् । सबै जिल्लाको एकीकरण प्रक्रिया अघि बढाउने र दुवै पार्टीको सम्पत्ति एकीकृत गर्ने निर्णय भएको अध्यक्ष कर्णबहादुर थापाले जनाए । गत जेठमा केन्द्रमा एकता भए पनि तल्लो तहको एकता नहुँदा प्रदेश र जिल्लामा तत्कालीन एमाले र माओवादीका छुट्टाछुट्टै कमिटी थिए ।

 

नेकपाको गण्डकी प्रदेशले बुधबारका लागि पदाधिकारी बैठक बोलाएको सहइन्चार्ज खगराज अधिकारीले जनाए । प्रदेश इञ्चार्ज पृथ्वी सुब्बा गुरुङ मंगलबार चीन भ्रमणबाट फर्केका छन् । इञ्चार्ज नहुँदा केही दिन ढिलो भए पनि अब प्रदेश कमिटीलाई पूर्ण दिनेलगायत काम अघि बढाइने अधिकारीले जनाए ।

केन्द्रीय सचिवालयले प्रदेशका पदाधिकारीलाई जिल्लाको नेतृत्व पनि मिलाउने गरी ‘सर्कुलर’ गरेको छ । नेकपाले यसअघि जिल्ला तहको नेतृत्व मिलाउन कार्यदल पनि गठन गरेको थियो । कार्यदलले पेस गरेको नामावलीमा सर्वसम्मति हुन नसकेपछि जिल्लाको नेतृत्व मिल्न सकेको छैन । प्रदेशलाई आ–आफ्ना जिल्लाको पनि विवाद मिलाउने भूमिका दिइएको छ । कान्तिपुरमा खबर छ ।

कमेन्ट गर्नुहोस्