पत्रिका जलाएको घटनाप्रति पत्रकार महासंघको आपत्ति

धनगढी, असोज १७ । कैलालीको अत्तरिया बजारमा पत्रिका जलाइएको घटनाप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ ।

वुधबार बिहान नेपालगञ्जबाट अत्तारियाको बिक्री केन्द्रमा वितरणका लागि ल्याइएका कान्तिपुर, काठमाडौँ पोस्ट र नागरिक दैनिक पत्रिकाका पोकाहरू अज्ञात समूहले नियन्त्रणमा लिएर आगो लगाएको थियो ।

पत्रिका बोकेको जिपमा रहेका पत्रिका निकालेर चार पाँच जनाको समूहले आगो लगाइ नष्ट गरेको समाचारमा जनाइएको छ ।

नेपाल पत्रकार महासङ्घ कैलालीले पत्रपत्रिकामा आगजनी गरिएको घटनाप्रति आपत्ति जनाउँदै घटनामा संलग्नको खोजी गरी कडा कारवाही गर्न माग गरेको छ ।

महासङ्घले जारी गरेको विज्ञप्तिमा आम नागरिकलाई सुसूचित हुने अधिकारबाट वञ्चित हुने गरी पत्रिका जलाइएको यो घटना प्रेस स्वतन्त्रता माथिको आक्रमण भएको जनाएको छ ।
रासस

 

 

कमेन्ट गर्नुहोस्