‘यो मेरो ठोकुवा हो, निर्मलाको हत्या त्यही घरमा भएको हो’

डोटी, असोज १७ ।

नेपाली कांग्रेसका नेता चथा पूर्वमन्त्री वीरबहादुर बलायरले निर्मला पन्तको हत्याराबारे बम दिदीबहिनीलाई जानकारी रहेको बताएका छन् ।
पन्तको हत्यारा पत्ता लगाउन नसकेको भन्दै सरकार र प्रहरी संगठनकै आलोचना भइरहेका बेला पूर्वमन्त्रीसमेत रहेका बलायरले बम दिदी–बहिनी पक्राउ गरे सबै कुरो तिनैबाट खुल्ने दाबी गरे ।

डोटीको दिपायलमा नेपाल प्रेस युनियन डोटी शाखाद्वारा आयोजित पत्रकार सम्मेलनमा नेता बलायरले भने, ‘‘यदि निर्मला हराएकै राति बम दिदिबहिनीहरुको घरमा छापा मारीएको भए निर्मला भरसक जिउँदै नभए शव प्राप्त हुन्थ्यो । तर, प्रहरीले राति जान नमिल्ने भन्दै वास्ता गरेन,यो प्रहरीको कमजोरी हो ।’

निर्मला पन्त गएको साउन १० गते रोशनी बमको घरमा गएकी थिइन् । त्यो घरमा रोशनी र उनकी दिदी वविता मात्र बस्थे । छोरी नआएपछि साँझ आफू खोज्न जाँदा बबिताले आफूलाई नराम्रो व्यवहार गरेको आमा दुर्गादेवीले सार्वजनिक रुपमा बताउँदै आएकी छन् ।
स्थानीय बासीन्दाले सुरुदेखि नै बम दिदी–बहिनीबाट हत्या प्रकरणको अनुसन्धान गर्नु पर्ने माग गरेका थिए । तर, लामो समयसम्म प्रहरी अनुसन्धान बाहिर रहेका उनीहरुलाई प्रहरीले पक्राउ गरे पनि केही दिनमा नै धरौटीमा छुटेका थिए ।

निर्मला पन्तको हत्या प्रकरणबारे अध्ययन गर्न कांग्रेसले खटाएको टोलीको सदस्यसमेत रहेका पूर्वमन्त्री बलायरले निर्मलाका हत्यारा बम दिदीबहिनीबाहेक अरुलाई थाहा नभएको बताए । उनले भने, ‘यो मेरो ठोकुवा हो । निर्मलाको हत्या त्यही घरमा भएको हो वा जिउँदै कसले लगेको हो, उनीहरुलाई सबै थाहा छ ।’

के आधारमा यो दाबी गर्नुभयो भन्ने पत्रकारहरुको प्रश्नमा पुर्वमन्त्री बलायरले भन्नु भयो आफैँले बोलाएर लैजानु, आमा खोज्दा जाँदा पोइला गइहोला भन्नु, साइकल भेटिएपछि शव पनि भेटिन्छ भन्नु त्यसैको आधार भएको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुको बचाउ गर्नुले पनि बम दिदीबहिनीमाथि थप शंका लागेको उाले बताए । नेता बलायरले प्रधानमन्त्री केपी शर्मा ओलीले नै बलात्कारी र हत्यारालाई बचाउन खोजेको आरोप लगाए ।

आफूले निर्मला हत्या काण्डको विषयमा प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष प्रचण्डलाई समेत भेटेर कुरा गरेको बताउँदै उनले भने, ‘त्यतिबेला त उहाँहरु निकै आक्रामक हुनुहुन्थ्यो तर अहिले के भयो त ?’

कमेन्ट गर्नुहोस्