‘पूँजी बजारलाई जीवन्त बनाउने काम लगानीकर्ताको हो’ : अध्यक्ष धितोपत्र बोर्ड

काठमाडौं, असोज १७ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.रेवतबहादुर कार्कीले धितोपत्र बजारलाई चलायमान बनाउने काम लगानीकर्ताको भएको बताएका छन् ।

विश्व लगानीकर्ता सप्ताह मनाईरहेको बोर्डले आफ्नो नयाँ वेबसाइट तथा विभिन्न प्रकाशनहरु सार्वजनिक गर्ने क्रममा अध्यक्ष कार्कीले नयाँ लगानीकर्तालाई बजार भित्र्याउने बोर्डको प्रमुख उद्देश्य भएको बताए ।

लगानीकर्ताबिना पूँजीबजार अपूर्ण रहने उल्लेख गर्दै अध्यक्ष कार्कीले बजारलाई जीवन्त बनाउने काम लगानीकर्ताको भएको बताए ।

बोर्ड अध्यक्ष कार्कीले लगानीकर्तालाई विवेकशील तरीकाले बजारमा लगानी गर्न समेत सुझाए । लगानीकर्तालाई सूचित गराउने र पूँजी बजारमा विदेशी लगानी भित्र्याउने काम बोर्डको भएको उनको भनाई थियो ।

‘पूँजीबजारको विकासविना आर्थिक समृद्धि सम्भव छैन । नेपालको पूँजी बजार सुधार र आधुनिकीरणको चरणमा रहेको बताउँदै उनले पूँजी बजारलाई प्रादेशिक र जिल्लागत रुपमा विस्तार गर्नुपर्छ । यसमा बोर्डले मात्रै नभई सबै सरोकारवाला निकायको साथ र सहयोग आवश्यकता छ । बजार विकास र विस्तारका लागि सबैको उत्तिकै दायित्व छ,’ उनले भने ।

साथै, बोर्ड अध्यक्ष कार्कीले पूँजीबजारलाई संघीय संरचनामा लैजान यसैबर्षभित्र प्रदेश नं.१ मा बोर्डको प्रादेशिक कार्यालयको स्थापना गर्ने जानकारी दिए ।

केन्द्रमा सीमित रहेको पूँजी बजारलाई संघीय संरचनाअनुसार प्रत्येक प्रदेशमा पुर्याएर लगानीकर्तालाई पूँजीबजारमा भित्र्याउने बोर्डको उद्देश्य रहेको प्रष्ट पारे ।

वित्तीय स्थायीत्वका लागि धितोपत्रको मात्र नभई अन्य क्षेत्रको पनि रेटिङ्ग आवश्यक रहेको उनको धारणा थियो । साथै उनले सरोकारवाला मात्र नभई नियामक निकायहरु पनि पारदर्शी हुनुपर्नेमा जोड दिए । सबै इमान्दार भएर लागेमा नेपालको पूँजी बजार अर्को चरणमा प्रवेश गर्न समय नलाग्ने बोर्ड अध्यक्ष कार्कीको भनाई थियो ।

साथै, उनले ब्रोकरमार्फत नै मार्जिन ल्याण्डिङ्ग सेवा उपलब्ध गराउने काम अन्तिम चरणमा रहेको जानकारी दिँदै धितोपत्र बजारलाई थप उर्जा मिल्ने बताए । मेरोलगानीबाट

कमेन्ट गर्नुहोस्