माघमा रिलिज हुँदै ‘प्रेमलीला’

काठमाडौँ, असोज १७ । अन्तरदेशीय प्रेम सम्बन्धको कथा प्रस्तुत गर्ने ‘प्रेमलीला’को फस्ट लुक सार्वजनिक भएको छ । बुधबार अनामनगरमा आयोजिक कार्यक्रममा फिल्मको पहिलो झलक सार्वजनिक गरिएको हो ।

योसँगै फिल्म प्रदर्शनको मिति पनि सार्वजनिक गरिएको छ । पत्रकार सम्मेलनमा जानकारी गराइए अनुसार फिल्म माघ २५ मा देशभर रिलिज हुनेछ । फस्टलुकमा दीपशिखाको कपाल खौरिएको फोटो मात्र सार्वजनिक गरिएको छ ।

फिल्ममा दीपशिखा खड्का, अलि खान र मौसम खड्काको अभिनय रहेको छ । खान र खड्काले यसै फिल्मबाट डेब्यु गरेका हुन् ।

 

 

दीपशिखाले यसअघि केही फिल्ममा अभिनय गरे पनि ‘प्रेमलीला’ नै आफ्नो डेब्यु फिल्म रहेको बताइन् ।‘ गर्न त मैले आठ वर्षको अवधिमा थुप्रै फिल्ममा अभिनय गरें तर मलाई कुनै पनि फिल्मले चिनाएनन् । त्यसैले मैले पनि यसलाई डेब्यु फिल्म नै ठानेकी छु,  खड्काले भनिन् ।

उनले फिल्मको गेटअपमा रहन सुटिङदेखि अहिलेसम्म ५ चोटि कपाल काटेको बताइन् ।

दुबईमा मोडलिङ गर्दै आएका अलि खानले फिल्ममा भारतबाट नेपाल घुम्न आउने पर्यटकको भूमिका निर्वाह गरेका छन् । उनले दीपशिखासँग दुबईमा भेट भएको र उनले फिल्म खेल्न एप्रोच गरेका कारण फिल्म खेलेको बताए । उनले भने, ‘दुबईमा दीपशिखासँग भेट भएको थियो । उनले फिल्मको बारेमा बताएकी थिइन् । पछि कथा चित्त बुझ्दो भएपछि खेल्न राजी भएको हुँ । आगामी दिनमा पनि नेपाली फिल्म खेल्न तयार छु ।’

दीपशिखा खड्काकै कथा तथा लेखन रहेको फिल्मलाई पवन गौतमले खिचेका हुन् । जनक पाण्डेले निर्देशन गरेकोमा फिल्ममा नानीमैया कार्की र फैजिल फिल्मसको लगानी रहेको छ । फिल्मलाई सुनिल मानन्धरले वितरण गर्न लागेका हुन् ।

कमेन्ट गर्नुहोस्