घरेलु हिँसाविरुद्ध देशभरि कार्यक्रम संचालन गरिने- गृहमन्त्री बादल

चितवन, असोज १७ । गृहमन्त्री रामबहादुर थापाले देशका ३६ हजार स्कुल-क्याम्पस र ७ हजार वडाहरूमा घरेलु हिँसाविरुद्ध कार्यक्रम संचालन गरिने जानकारी दिएका छन् ।

प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल चितवनले बुधबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री थापाले भ्रष्टाचार, गुण्डागर्दी  र अपराध नियन्त्रणमा सरकारले प्राथामिकताका साथ काम गरिरहेको उल्लेख गरे ।

सरकारले विकासका लागि आवश्यक पूर्वाधार निर्माण सम्बन्धी काममा महत्वपूर्ण उपलब्धि हासिल गरेको भन्दै उनले चीनसँग पारवहन सम्झौता र भारतसँग जल, रेल र यातायात सम्बन्धी महत्वपूर्ण सम्झौता भएको बताए । सरकारले चन्दा आतंक, अपराध, सिन्डिकेट र भ्रष्टाचार अन्त्य गर्न कडा कदम चालेको थापाले दावी गरे ।

थापाले निर्मला हत्या प्रकरणमा अपराधी पत्ता लगाउन सरकारले अधिकतम प्रयास गरेको भए पनि घटनालाई राजनीतिकरण गरेर अफवाह फैलाइएको बताए ।

९५ प्रतिशत हिंसाका घटनामा संलग्न अपाराधीहरु कानुनी कठघरामा आएको भन्दै उनले निर्मलाको बलात्कार र हत्यामा संलग्नलाई कारवाही भएरै छाड्ने दावी गरे । ‘निर्मलाजस्ता सयौं बलात्कार भएका छन्,’ उनले भने, ‘अपराधी कसैले पनि उन्मुक्ति पाउँदैन्, बाँकी रहेका २/४ प्रतिशतलाई छिट्टै कानुनी कठघरामा ल्याउँछौं ।’

घटनालगत्तै उच्चस्तरीय छानविन समिति गठन गरेर घटनाको अनुसन्धान भएको भन्दै गृहमन्त्री थापाले समितिको प्रतिवेदनको निष्कर्षलाई आधार मानेर झन् गहिराइका साथ अनुसन्धान गरिरहेको बताए । छानविन समितिको प्रतिवेदन छिट्टै सार्वजनिक गरिने गृहमन्त्री थापाको भनाइ छ ।

घरेलु हिंसा बढ्नुको प्रमुख कारण मदिरा, लागुपदार्थलगायत भएको भन्दै उनले मदिराको नियमन र नियन्त्रण गरिने बताए । उनले मदिरा सेवन र बिक्रीवितरणलाई कडा बनाइने जानकारी दिए ।

आपराधिक क्रियाकलापमा युवाहरु सिकार भएको भन्दै उनले युवालाई अग्रणी भूमिकामा राखेर चेतनामूलक कार्यक्रम गरिने बताए ।

उनले  तस्करहरु निस्तेज पारेको र राजश्वमा उल्लेख्य बृद्धि भएको जिकिर गरे । सरकार कडाइका साथ प्रस्तुत भएका कारण गुण्डाहरु भूमिगत भएको उनको भनाइ छ ।

अर्को प्रसंगमा गृहमन्त्री थापाले वर्तमान सरकारका कारण ३३ किलोमात्र नभई ३३ सय बढी किलो सुन तस्कर गर्नेहरुको सञ्जाल ध्वस्त बनेको दाबी गरे ।

 

कमेन्ट गर्नुहोस्