नेइमारले गरे कीर्तिमानी ह्याट्रिक गोल, पिएसजी ६-१ ले विजयी !

एजेन्सी । ब्राजिलका स्टार स्ट्राइकर नेइमारको कीर्तिमानी गोलले गर्दा फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन, पिएसजीले च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको दोस्रो खेलमा शानदार जित निकालेको छ ।

 

घरेलु मैदानमा भएको खेलमा पिएसजीलाई जिताउन नेइमारले ह्याट्रिक गरे भने एडिन्सन काभानी, एन्जल डी मारिया र केलियन एमबाप्पेले एक एक गोल गरे । रेड स्टारका लागि मारिनले एक गोल फर्काए ।

 

पहिलो खेलमा लिभरपुलसँग पराजित भएको पिएसजीले समूह सी अन्तर्गत बुधबार राति भएको खेलमा रेड स्टार बेलग्राडलाई ६-१ ले हराएको हो ।

 

नेइमारले ८१ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेपछि पिएसजी ६-१ ले विजयी भयो । नेइमारको ह्याट्रिक गोल उनका लागि कीर्तिमानी गोल पनि बन्यो ।

 

उनी च्याम्पियन्स लिगमा सबै भन्दा धेरै गोल गर्ने ब्राजिलियन खेलाडीको कीर्तिमानमा बराबरी गर्न सफल भएका छन् । नेइमारले अहिलेसम्म च्याम्पियन्स लिगमा ३० गोल गरेका छन् र यो काकाले बनाएको कीर्तिमानसँग बराबरी हो ।

 

नेइमारले यो खेलमा आफ्नो मास्टर क्लास प्रदर्शन गरे । उनले दुईवटा गोल सीधै फ्रि–किकबाट गरेका हुन् । उनी च्याम्पियन्स लिगको एकै खेलमा दुई गोल सीधै फ्रि-किक मार्फत गर्ने पछिल्लो ९ वर्षमा पहिलो खेलाडी हुन् । यसअघि सनन् २००९ मा रोनाल्डोले ज्युरिचसँगको खेलमा दुई गोल सीधै फ्रि-किक मार्फत गरेका थिए ।

कमेन्ट गर्नुहोस्