मेसीको शानदार प्रदर्शन, टोटनह्याम ४-२ ले पराजित

एजेन्सी । जारी च्याम्पियन्स लिग फुटबलमा बुधबार राति भएको स्पेनिस क्लब बार्सिलोना विजयी भएको छ । लियोनल मेसीको कप्तानीमा रहेको बार्सिलोनाले इंग्लिस क्लब टोटनह्यामलाई ४-२ को हराउँदै विजयी भएको हो ।

 

समूह बी अन्तर्गतको खेलमा बार्सिलोनाले माउरिसिओ पोकेटिनोको टिम टोटनह्यामलाई उसकै मैदानमा निराश पारेको हो । बार्सिलोनाले पहिलो हाफमा दुई तथा दोस्रो हाफमा दुई गोल गरेको हो । टोटनह्यामले दोस्रो हाफमा दुई गोल फर्काए पनि हार टार्न सकेन ।

 

बार्सिलोनाका लागि दोस्रो मिनेटमा नै फिलिप कोन्टिन्होले गोल गर्दै सुरुवाति अग्रता दिलाए । २८ औं मिनेटमा इभान रेकिटिकले गोल गरेपछि पहिलो हाफमा स्पेनिस क्लबले २-० को अग्रता लियो ।

 

दोस्रो हाफमा टोटनह्यामले खेलमा फर्किने संकेत गर्यो । उसका लागि ५२ औं मिनेटमा ह्यारी केनले गोल फर्काए । तर त्यसको चार मिनेटपछि बार्सिलोनाका कप्तान मेस्सीले गोल गरे ।

 

६६ औं मिनेटमा एरिक लामेलाले टोटनह्यामका लागि गोल गरेपछि खेलमा बार्सिलोनाको अग्रता ३-२ को अवस्थामा पुग्यो । तर ९० औँ मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोनाले ४-२ को जित पक्का गरेको हो ।

कमेन्ट गर्नुहोस्