मनकारी दम्पतीः जसले करोडौंको सम्पत्ति अस्पताललाई दिए

पोखरा, असोज १८ । बुढेसकालका लागि सहारा भन्दै धन थुपार्ने र धनकै लागि मरिहत्ते गर्ने चलन समाजमा व्याप्त छ । तर, पोखरा महानगरपालिका ३१ का रेवतीरमण र शान्ता पौडेलले भने सबै जग्गाजमिन एक अस्पताललाई दिएका छन् ।

 

निःसन्तान दम्पतीले बस्दै आएको घरसमेत अस्पताललाई दिएपछि उनीहरू यतिबेला अस्पतालले उपलब्ध गराएको दुई कोठामा बस्दै आएका छन् ।

 

बाबुआमाका एक्ला छोरा रेवतीरमणका एउटै सन्तान जन्मिएनन् । बुढेसकालमा देवघाट जाने योजना बनाएका थिए । २०६० फागुन १७ देखि २४ गतेसम्म लायन्स क्लब अफ लेखनाथले अस्पताल सञ्चालनार्थ महायज्ञ लगायो ।

 

स्वर्गीय नारायणप्रसाद पोखरेल प्रमुख वाचक थिए । गाउँ नजिकै अस्पताल खोल्ने उद्देश्यसाथ महायज्ञ लगाएपछि पौडेल दम्पतीको देवघाट जाने सोच बदलियो ।

 

‘नजिकै अस्पताल खुलेपछि कसैले पनि अकालमा ज्यान गुमाउन नपर्ने र सामान्य उपचारका लागि पनि पोखरा बजारमा जानुपर्ने बाध्यताको अन्त्य हुने देखेर देवघाट जाने योजना हटाएर सबै जग्गा अस्पताललाई दिएका हौं,’ रेवतीरमणले भने, ‘अहिले अस्पताल राम्रैसँग चलेको देखेर खुसी छौं । सम्पत्ति दिएकोमा कुनै पश्चाताप छैन ।’

 

दम्पतीले साबिक लेखनाथ नगरपालिका ११ को किमबेसी र पचभैंयामा रहेको १६ रोपनी घरजग्गा अस्पताललाई दिएका थिए । उक्त जग्गाको मूल्य अहिले करिब १० करोड रुपैयाँ पर्छ ।

 

त्यसमध्ये घर रहेको ४ रोपनी जग्गा अस्पतालले उतिबेलै १८ लाख रुपैयाँमा बेचेको थियो । महायज्ञका बेला नगद र जिन्सी गरी करिब २ करोड रुपैयाँ संकलन भएको थियो ।

साबिकको लेखनाथ नगरपालिकाले मोहोरियामा १७ रोपनी प्रतिजग्गा भोगाधिकारका लागि दिएपछि अस्पताल बनाइएको थियो । जग्गाको लालपुर्जाका लागि अस्पतालले अहिले प्रक्रिया अघि बढाएको कार्यालय प्रमुख केदारनाथ लामिछानेले बताए ।

 

 

सन्तान भएनन् । सम्पत्ति कसलाई राख्ने । समयमै उपचार नपाएर कोही मर्न नपरोस् भनेर अस्पताललाई सबै सम्पत्ति सुम्पेको शान्ताले बताइन् । कान्तिपुरमा खबर छ ।

कमेन्ट गर्नुहोस्