अनलाइन कारोबार प्रणाली सुरु भएपछि कमिशन दर घटाइन्छः धितोपत्र बोर्ड

काठमाडौं, असोज १८ । नेपाल धितोपत्र बोर्डले अनलाइन कारोबार प्रणाली सुरु भएपछि शेयर दलालहरुले लिँदै आएको कमिशन दर परिमार्जन गर्ने भएको छ ।

यसका लागि सबै पक्षसँग छलफललाई तीव्र बनाइने बोर्डका कार्यकारी निर्देशक निरज गिरीले बताएका छन् । बोर्डका कार्यकारी निर्देशक गिरीले अनलाईन कारोबार सुरु भएपछि दलाल व्यवसायीका साथै नेप्सेलगायत सम्बद्ध पक्षको काम सहज हुने भएकाले कमिशन दरमा परिमार्जन गर्न सकिने बताएका हुन् । सम्बन्धित निकायसंग छलफल गरेर कमिशन घटाउने सकिने भन्दै उनले भने, ‘संस्था पनि चल्ने अनि लगानीकर्ताहरुलाई पनि राहत हुने किसिमको नयाँ कमिशन दर निर्धारण गर्न बोर्डले पहलकदमी लिनेछ ।’

विश्व लगानीकर्ता सप्ताहको अवसरमा राजधानीमा आयोजित एक कार्यक्रममा कार्यकारी निर्देशक गिरीले लगानीकर्तालाई रहत दिनका लागि बोर्डले यस्तो कदम चाल्न लागेको बताएका हुन् । साथै उनले लगानीकर्ताहरुलाई सूचीकृत कम्पनीहरुको वित्तीय विवरणको राम्रो अध्ययन गरेर मात्र लगानीको निर्णय गर्न आग्रह गरे ।

कम्पनी सञ्चालकहरुको जानकारी, कम्पनीको अवस्था, लाभांस क्षमता लगायतका विविध जानकारीमा अभ्यस्त भएर लगानीको निर्णय गर्दा ठुलो नोक्सान व्यहोर्ने अवस्था उत्पन्न नहुने उनको भनाई थियो । मेरोलगानीबाट

कमेन्ट गर्नुहोस्