सिंहदरबार गेटअगाडि निर्मलाको दोषीलार्इ कारबाहीको माग गर्दै प्रदर्शनमा

काठमाडौं, असोज १८ । बिहीबार सिंहदरबारको दक्षिण गेटमा ‘निर्मलाका निम्ति न्याय’ अभियानका अभियन्ताहरुले प्रदर्शन गरेका छन् ।

स्वेच्छिक गिरफ्तारी गर्न आग्रह गर्दै निर्मलाका निम्ति न्यायको लागि उनीहरु सिंहदरबारको ढोका ढकढक्याउन पुगेका हुन् । ‘निर्मलाका निम्ति न्याय’का अभियन्ताले बिहीबार बिहान ११ बजे निषेधित क्षेत्र घोषणा गरिएको सो ठाउँमा प्रदर्शन गरेर धर्ना दिएका हुन् । उनीहरूले गृहमन्त्री रामबहादुर थापा र प्रहरी प्रमुख सर्वेन्द्र खनालको राजीनामा माग्दै नारा लगाएका थिए । उनीहरुले बिहीबार दिउँसो २ बजे रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दैछन् ।

निर्मलाका निम्ति न्याय माग्दै यसअघि पनि विभिन्न किसिमका विरोधका कार्यक्रमहरु भइसकेका छन् । गत साउन ११ गते बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्यारा अझै पत्ता लाग्न सकेको छैन । दोषीलाई छिट्टै पहिचान गरी कारबाही गर्नुपर्ने माग राख्दै सरकारलाई दवाव दिन विभिन्न कार्यक्रम भइरहेका छन् । नयाँपत्रिकाबाट

कमेन्ट गर्नुहोस्