मलेसियामा एक किशोरको उद्धारमा गएका ६ जनाको डुबेर मृत्यु

मलेसिया, असोज १८ । मलेसियाको एउटा खानीमा भएको पोखरीमा हराएका एक किशोरको उद्धार गर्न गएका ६ गोताखोरको पानीमा डुबेर मृत्यु भएको छ।

बुधवार दिउँसो साथीहरूसँग माछा मार्न गएका ती १७ वर्षीय किशोर पोखरीमा खसेपछि उनको खोजी गर्न उद्धारकर्मीहरू परिचालित थिए । अधिकारीका अनुसार उद्धारकर्मीहरू पोखरीभित्र एउटा भुमरीमा फसेका र अकस्मात् शक्तिशाली जलप्रवाहले उनीहरूका उपकरणलाई छुट्यार्इ दिएका थिए।

हराएका किशोरको खोजी अभियान बिहीवार फेरि थालिएको छ ।

उक्त घटना सेलाङ्गोर प्रान्तको सेपाङ जिल्लामा भएको हो । प्राप्त विवरणका अनुसार माछा मार्न सुरु गर्न लाग्दा ती किशोर पोखरीमा खसेका थिए । ती उद्धारकर्मीहरूले सुरक्षाका लागि आवश्यक सबै उपाय अवलम्बन गरेको सेपाङका प्रहरी प्रमुख अब्दुल अजिज अलीले बताए ।

शक्तिशाली जलप्रवाहले सबै उद्धारकर्मीलाई पानीमा फन्फनी घुमाइदिएको उनले मलेशियाको सरकारी समाचार संस्था बेर्नामालाई बताएका छन् । त्यसो हुँदा उनीहरूले बोकेका उपकरण छुट्टिएका थिए ।

अग्नि नियन्त्रण र उद्धार विभागका महानिर्देशक मोहम्मद हम्दान वाहिदलाई उद्धृत गर्दै न्यू स्ट्रेट टाइम्स पत्रिकाले लेखेको छ, ‘त्यहाँ भुमरी परेको थियो र उद्धारकर्मीहरूले त्यसबाट उम्कन संघर्ष गरेको देखिएको किनारामा रहेको टोलीले बताएको छ।’

ती उद्धारकर्मीहरू ३० मिनेटजति भुमरीमा फसेका थिए। अरू सहकर्मीले बाहिर निकाल्दा उनीहरू सबै अचेत थिए । कृत्रिम श्वासप्रश्वास गर्दा पनि उनीहरू बौरिएनन् । ‘६ जना कर्मचारीको मृत्यु भएको यो पहिलोचोटी हो’, उनले बेर्नामालाई भने, ‘यो हाम्रा लागि अन्त्यन्तै दुःखद दिन हो ।’

वाहिदका अनुसार प्रारम्भिक अनुसन्धानले बाढी रोक्न बनाइएको पर्खालले वर्षापछि आएको भेल रोक्न नसकेको देखाएको छ । बुधवार दिउँसो सो क्षेत्रमा ठूलो पानी परेको र त्यसका कारण पानीको वेग बढेको अनुमान गरिएको छ । बीबीसीबाट

कमेन्ट गर्नुहोस्