मिठाईमा झिंगा र साङ्ला भेटिएपछि गौशालाका २ मिठाई पसलमा शिलबन्दी !

काठमाडौं, असोज १८ ।

सरकारले आज पनि बजार अनुगमनलाई तिव्र पारेको छ । अनुगमनकै क्रममा काठमाडौंको गौशालामा रहेका दुई वटा मिठाई पसलमा शिलबन्दी गरेको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन टोलीले बिहीबार मानव स्वास्थ्यमा गम्भीर असर पार्ने खालका बस्तु मिसावट भएको पाइएपछि गौशालामा रहेको व्यञ्जन मिठाई पसल र अन्नपूर्ण मिठाई पसलमा शिलबन्दी गरेको हो ।

झिंगा, साङलाजस्ता मानव स्वास्थ्यमा गम्भीर नोक्सान पुर्‍याउने खालका बस्तुहरु मिसावट भएको पाइएपछि दुवै मिठाई पसल शिलबन्दी गर्नु परेको विभागका खाद्य अनुसन्धान अधिकृत इश्वर सुवेदीले जानकारी दिनुभयो । विभागले यसअघि नयाँबानेश्वरस्थित संगम मिठाई पसलमा पनि अखाद्य बस्तु मिसावट भएको पाएपछि शिलबन्दी गरेको थियो ।

खाद्य अनुसन्धान अधिकृत सुवेदीले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने खालका मिसावट गर्ने उत्पादन, बिक्री वितरण केन्द्रमा शिलबन्दी गरी कडा कारबाही गर्ने चेतावनी दिए । विभागले अनुगमनको क्रममा दुवै मिठाई पसलबाट साङला, झिंगा लगायतका बस्तु मिसिएको झण्डै १ सय २० केजी मिठाईलगायतका बस्तुहरु नष्ट पनि गरेको छ । दुवै पसललाई खाद्य ऐन अन्तरगत कार्वाही हुने पनि विभागले स्पष्ट पारेको छ ।

खाद्य ऐन अनुसार गुणस्तरहीन खाद्य बस्तु उत्पादन, विक्री वितरण गर्नेमाथि कम्तीमा ५० हजार जरिवाना र ५ वर्ष कैद सजाय दिने व्यवस्था गरिएको छ । सरकारले दसैँ, तिहारको अवसर पारेर उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्न नदिन काठमाडौंलगायत देशभरका मुख्यमुख्य सहरमा अनुगमनको कामलाई तीव्रता दिएको हो ।

कमेन्ट गर्नुहोस्