पेट्रोलियम पदार्थको मूल्य घट्यो

नयाँदिल्ली, असोज १८ । भारत सरकारले बिहीबार पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । पेट्रोल र डिजलमा प्रतिलिटर भारतीय २ रुपैया ५० पैसा घटाएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।

 

 

घटाएको मूल्य तत्कालै कार्यान्वयन हुने पनि उनीहरूले बताएका छन् । मूल्य घटाउन सरकारले तीन बुँदे योजना बनाएको समेत जनाएको थियो ।

 

 

देशका वित्तमन्त्री अरुण जेट्लीले डिजल र पेट्रोलमा राज्यको तर्फबाट लाग्ने एक रुपैयाँ ५० पैसा बराबरको कर पनि कटौती गरिएको बताए । त्यसमा तेल विक्री वितरण गर्ने कम्पनीहरूले प्रतिलिटरमा थप एक रुपैयाँ घटाउने भएका छन् ।

 

 

त्यसैगरी तेलको मुल्य घटाउने तेस्रो उपायको रुपमा वित्तमन्त्री जेट्लीले प्रदेश सरकारहरूलाई पनि कर कटौती गर्न लगाएका छन्। उनका अनुसार प्रदेशमा त डिजल र पेट्रोलको प्रतिलिटर भारतीय पाँच रुपैया सम्म पनि मूल्य घट्न सक्नेछ ।

 

भारतको महाराष्ट्र र गुजरात प्रदेशमा सत्तारुढ दल भारतीय जनता पार्टीले प्रतिलिटर भारतीय दुई रुपैया ५० पैसा घटाउने घोषणा गरिसकेको जनाइएको छ । -रासस

कमेन्ट गर्नुहोस्