बसमा पत्रकारलाई पनि आरक्षित सिट

काठमाडौं, असोज १९ । नेपालीको महान् चाड दशैं मनाउन काठमाडौं उपत्यका बाहिर जाने यात्रुले टिकट नपाएको गुनासो सुनिरहेकै बेला राजधानीभित्र चल्ने एउटा यातायात कम्पनीले भने पत्रकारलाई लक्षित गरी आरक्षित सिटको व्यवस्था गरेको छ ।

 

 

साँखुदेखि दक्षिणकालीसम्मको भर्खरै रुट अनुमति पाएको बाबा गोकर्णेश्वर यातायात अटो प्रालिका २५ वटै बसमा पत्रकारका लागि अग्रपङ्क्तिका दुई सिट आरक्षित कोटामा राखेको हो ।

 

 

उपत्यकाभित्र लामो दूरीको सञ्चालन अनुमति पाएको उक्त कम्पनीका ४० सिट क्षमताका सबै बसमा सिट नं. १ र २ पत्रकार लागि छुट्याइएको छ ।

 

 

उक्त कम्पनीले अन्य बसहरूमा जस्तै महिला, ज्येष्ठ नागरिक, असक्त, बच्चा–आमा र अपाङ्गता भएका व्यक्तिका लागि पनि प्राथमिकताका साथ दुई–दुई सिट छुट्याएको बा५ख ६३९३ का चालक लीलाबहादुर कार्कीले जानकारी दिए ।

 

 

दक्षिणकाली र साँखुबाट एकैसाथ बिहान ४ः३० देखि साँझ ५ः३० सम्म प्रत्येक १५ मिनेटमा छुट्ने उक्त कम्पनीले तीनवटा रुटमा बस सञ्चालनको अनमुति पाएको छ ।

 

 

पहिलो रुटमा साँखु, जोरपाटी, चावहिल, कोटेश्वर बल्खु हुँदै दक्षिणकाली, दोस्रो रुट साँखु, जोरपाटी, चक्रपथ, कलङ्की, बल्खु हुँदै दक्षिणकाली र तेस्रो रुट साँखु, जोरपाटी, चावहिल, रातोपुल, ज्ञानेश्वर डिल्लीबजार, रत्नपार्क, त्रिपुरेश्वर, बल्खु हुँदै दक्षिणकालीसम्म कायम गरिएको छ । साँखुदेखि दक्षिणकालीसम्मको भाडा रु ९८ तोकिएको छ । -रासस

कमेन्ट गर्नुहोस्