ज्वाईंले भगाए जेठानकी श्रीमती, दुई परिवार अलपत्र

कंचनपुर, असोज १८ । ज्वाईंले जेठानकी श्रीमती भगाएपछि कंचनपुर प्रहरीमा मुद्दा दायर परेको छ । भीमदत्त नगरपालिका वार्ड नं. ५ बनगाउँ बस्ने भारतीय नागरिक पन्नीलाल मौर्यले आफ्नी जेठान हरिश दमाईकी श्रीमती द्रोपती दमाईलाई भगाएर लगेका छन् । मौर्याले उनलाई मायाप्रेममा परेर लगेको वा बेच्नका लागि लगेको बारे नखुलेको परिवारजनले बताएका छन् ।

बहिनी ज्वाँईले आफ्नै श्रीमती भगाएपछि जेठान हरिश दमाई हैरान भएका छन् । हरिश आमा रोहिता दमाई, बहिनी ईश्वरी मौर्या (दमाई) सहित उनीहरुलाई खोजबिन र कार्बाहीका लागि शुक्रबार उजुरी गर्न जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा आएका थिए ।

पन्नालालकी श्रीमती ईश्वरीले बिहीबार दिउँसो १२ बजेतिर श्रीमान तरकारी ल्याउँछु भन्दै बजार हिँडेको बताइन् । उता भीमदत्त नगरपालिका १० तिलकेनीका हरिस दमाईकी श्रीमती द्रोपति दमाई पनि पेट दुखेको भन्दै जिमुवा अस्पताल आउँछु भन्दै घरदेखि हिँडेका थिईन् ।

‘दुवै जना एकै साथ एकै समयमा आ–आफ्नो घरबाट निस्किए, अबेरपखसम्म पनि दुवै घर आएनन्, ‘ईश्वरीले भने, ‘मैले मेरा श्रीमान घरमा नआएपछि उता माइतमा फोन गरेर द्रोपतिको बारेमा बुझेँ । उनी पनि घर आएकी थिईनन्, मलाई थाहा भयो, कि दुवै जना भागेर भारत गए ।’ दुवैले चलाउँदै आएको फोन पनि नलागेपछि भागेको थाहा भएको उनले बताइन् । पन्नालाल र ईशवरीको ११ वर्ष पहिले मागी विवाह भएको थियो । उनीहरुका दुई छोरामात्रै छन् । यता हरिस र द्रोपतिको पनि १२ वर्ष अघि मागी विवाह भएको थियो । उनीहरुको दुई छोरीमात्रै छन् । पन्नालाल र द्रोपतिबीच फोन सम्पर्क हुने गरेको पन्नालालकी श्रीमती ईश्वरीले बताइन् । ‘दुवै जनाबीच फोन हुन्थ्यो ।’

उनले भनिन्, ‘मै त सोच्थे भाउजुसँग फोन गर्दैमा के हुन्छ ।’ आज श्रीमानका कारण दाजु र बहिनीको जिन्दगी बर्बाद भएको उनले दुखेसो पोखिन् । हरिशले ज्वाईसँगै भागेर गएकी श्रीमतीलाई कुनैपनि हालतमा स्वीकार नगर्ने जिकिर गरेका छन् । ‘मेरी बहिनीका श्रीमानसँग गएकी श्रीमतीलाई राख्ने कुरै भएन’ उनले भने, ‘यस्तो धोका दिनेसँग कसरी बस्न सकिन्छ ?’

हरिस र ईश्वरीकी आमा रोहिता दमाई यतिबेला ५० औँ बसन्तपार गरेकी छिन् । घटनाले उनलाई आकासबाट खसेको जस्तो भएको छ । ‘आफ्नो छोरी ज्वाईले बुहारी भगाएर लगेको छ ।’ उनले दुखेसो पोखिन्, ‘यो कलियुगमा यस्तो अचाक्ली के भइरहेको छ ।’ उनी चिन्तत हुँदै भगवान पुकार्दैछिन् । दुवैलाई कार्बाही गर्न उनले आग्रह गरिन् । कञ्चनपुर प्रहरीले घटनाको अनुसन्धान भईरहेको जनाएको छ ।

नयाँ पत्रिकाबाट

 

कमेन्ट गर्नुहोस्