नगरप्रमुखले लेखा अधिकृतमाथि हातपात गरेपछि कर्मचारीहरु अान्दोलित, कामकाज ठप्प

बर्दिवास, असोज १९ । महोत्तरीका सबै स्थानीय तहका कार्यालय कर्मचारीले शुक्रबार ठप्प पारेका छन् ।

भंगाहा नगरपालिकाका लेखा अधिकृत पवनकुमार अधिकारीलाई नगर प्रमुखले हातपात गरेपछि कर्मचारी आन्दोलित भएका हुन् । कर्मचारीले शुक्रबार जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकाको कामकाज ठप्प पारेका छन् ।

यही असोज १० गते लेखा अधिकृत अधिकारीलाई नगरप्रमुख सञ्जीवकुमार साहले आफ्नै कार्यकक्षमा हातपात गरेपछि आफूहरु आन्दोलनमा उत्रेको ट्रेड युनियनका अध्यक्ष राजीशरण यादवले बताए ।

“जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएपनि कुनै कारवाही नभएपछि आन्दोलनमा उत्रिएका हौँ,” उनले भने ।

कर्मचारीको आन्दोलनका कारण सर्वसाधारण मारमा परेका छन् । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले कानून र प्रक्रिया अनुसार आफ्नो तहबाट कारवाही प्रक्रिया बढाएको जानकारी दिए । रासस

कमेन्ट गर्नुहोस्