जिल्ला कमिटीलाई एकीकृत रुपमा गतिविधि गर्न निर्देशन नेकपाको निर्देशन

काठमाडौं, असोज १९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश नं ३ ले जिल्ला तहमा एकता नहुँदासम्मका लागि पदाधिकारीहरुलाई एकीकृत रुपमा गतिविधि गर्न निर्देशन दिएको छ ।

 

 

प्रदेश नं ३ इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिवले जिल्ला तहमा पार्टीको गतिविधिमा शून्यता भएपछि पूर्वनेकपा (एमाले) र पूर्वनेकपा (माओवादी केन्द्र) का जिल्ला कमिटीका पदाधिकारीलाई आफ्ना मातहतका जिल्ला कमिटीलाई एकीकृत रुपमा गतिविधि गर्न निर्देशन दिइएको हो । प्रदेश इञ्चार्ज अष्टलक्ष्मी शाक्यले जिल्ला तहमा कार्यक्रम सञ्चालन नभएपछि पार्टीलाई चलायमान गराउनका लागि दुवै पार्टीका कमिटीलाई संयुक्त रुपमा गतिविधि सञ्चालन गर्न निर्देशन दिइएको जानकारी दिए ।

 

 

नेकपाले यसअघि जिल्ला कमिटी एकीकरण नहँुदासम्म कार्यक्रम गर्न रोक लगाएको थियो । यसले गर्दा दुवै पार्टीका तल्ला कमिटी एकीकरण नहुँदा गतिविधि ठप्प थियो । दुवै जिल्ला कमिटीलाई प्रदेश पदाधिकारीको परामर्शमा गतिविधि गर्न भनिएको छ ।

 

 

उनको निर्देशनानुसार जिल्ला कमिटीले पनि धमाधम कार्यक्रम र योजना बनाई गतिविधि सञ्चालन गरिरहेका छन् । प्रदेश पदाधिकारीले ती जिल्ला कमिटीलाई पार्टी कार्यालय सञ्चालन एकै ठाउँबाट गर्न, संगठित सदस्यलाई एकीकृत गर्न तथा भौतिक सम्पत्ति र खाता सञ्चालन गर्न पनि एकैबाट गर्न समेत निर्देशन दिइएको इञ्चार्ज शाक्यले बताए ।

 

 

केही दिनअघि मात्र पार्टी सचिवालय बैठकले परिपत्र जारी गदै प्रदेश इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिव तोकेर पार्टीको विधान, नियमावली र निर्देशनानुसार जिल्ला तह तथा जिल्ला मातहतका सबै कमिटीको एकीकरण गर्न निर्देशन दिएको थियो ।

 

 

यस्तै प्रदेश पदाधिकारीले दुवै पार्टीका क्षेत्रीय, नगर, गाउँ र वडा कमिटीलाई गतिविधि गर्न समेत भनेको छ । दुवै जिल्ला कमिटीलाई क्षेत्रीय, नगर, गाउँ र वडा कमिटीको एकीकरणको प्रस्ताव प्रदेशमा पेश गर्न समेत निर्देशन दिइएको इञ्चार्ज शाक्यले बताए ।

 

 

प्रदेश नं ३ इञ्चार्जमा शाक्य, सहइञ्चार्जमा हितमान शाक्य, अध्यक्ष नारायण दाहाल र सचिवमा आनन्द पोखरेल रहेका छन् । सो प्रदेशमा काठमाडौं, ललितपुर, भक्तपुर, रसुवा, नुवाकोट, धादिङ, काभ्रेपञ्लाचोक, सिन्धुपाञ्चोक, दोलखा, रामेछाप, सिन्धुली, चितवन र मकवानपुर छन् । उनले १३ वटै जिल्लामा आफूहरु पुगी कार्यक्रम योजना र भेलासमेत गर्ने बताए । -रासस

कमेन्ट गर्नुहोस्