दक्षिण कोरियाली पूर्व राष्ट्रपतिलाई १५ वर्ष जेल सजाय

सिओल । दक्षिण कोरियाका पूर्व राष्ट्रपति ली म्युङ बाकलाई पदमा हुँदा भ्रष्टाचार र शक्तिदुरुपयोग गरेको ठहर गर्दै यहाँको एक अदालतले १५ वर्षको जेल सजाय सुनाएको छ ।

 

 

घुस लिएको, आर्थिक हिनामिना गरेको र शक्तिदुरुपयोग गरेको अभियोग प्रमाणित भएको भन्दै अदालतने उनलाई झन्डै एक करोड १५ लाख डलर जरिवाना तिर्न आदेश गरेको छ ।

 

 

सन् २००८ देखि २०१३ सम्म दक्षिण कोरियाली सत्ता सम्हालेका ७६ बर्षीय लीले आफूविरुद्ध लगाइएका अभियोगहरू राजनीतिक रूपमा अभिप्रेरित भएको दाबी गर्दै आएका छन् । दक्षिण कोरियामा जेल जाने उनी चौंथो पूर्वनेता हुन् ।

 

 

उनकी उत्तराधिकारी पार्क गुन हेलाई गत अप्रिल महिनामा कारागार पठाइएको थियो । शक्तिदुरुपयोग गरेको र अरूलाई दबाव दिएको अभियोगमा पार्कलाई ३३ वर्षको जेल सजाय सुनाइएको थियो ।

 

 

पार्कलाई सिओलको पुनरावेदन अदालतले लामो समयदेखि घनिष्ठ सम्बन्ध रहेका साथी चोई सुन–सिलको प्रभावमा परी भ्रष्टाचार गरेको अभियोगमा उक्त जेल सजाय तोकेको थियो । उनीविरुद्ध ठूला विरोधका कार्यक्रमपछि महाभियोग लगाई पदमुक्त गरिएको थियो । यसरी पदमुक्त हुने उहाँ प्रथम निर्वाचित राष्ट्रपति थिए । -रासस

कमेन्ट गर्नुहोस्