निर्मला हत्या प्रकरणः जसले जिउँदै आफ्नो श्रद्धान्जलीको खबर पढे !

कञ्चनपुर, असोज १९ । निर्मला पन्तको बलात्कार र हत्याका वास्तविक दोषी पत्ता लगाउनुपर्ने माग गर्दै चर्केको आन्दोलनमा भदौ ८ गते प्रहरीको गोली लागेर १ जनाको मृत्यु भयो ।

 

 

सामाजिक सञ्जाल तथा विभिन्न सञ्चार माध्यममा मृत्यु हुनेको नाम चेतन भट्ट भनेर आयो । धेरैले आफ्नो फेसबुकवालमा उनको तस्बिर राखेर श्रद्धाञ्जली दिँदै ‘अलबिदा चेतन’ पनि भन्न भ्याए ।

 

 

भीमदत्त नगरपालिका-१८ जानकीटोलका १४ वर्षीय चेतन भट्टले पनि आफ्नो मृत्युको खबर सुने । तिनै चेतन अहिले निर्मला घटनाका विषयमा महेन्द्रनगरमा हुने जुनसुकै आन्दोलन र विरोध कार्यक्रममा सहभागी भइरहेका छन् ।

 

 

महेन्द्रनगरकै भृकुटी उच्चमाविका कक्षा ८ का विद्यार्थी चेतन निर्मलालाई राम्ररी चिन्थे । त्यसैले उनी सुरुदेखि आन्दोलनमा संलग्न थिए । भदौ ८ गते उनी महेन्द्रनगर बसपार्कको पूर्वपट्टी प्रदर्शनमा थिए । उनीसँगै पढ्ने २०-२५ जना विद्यार्थी पनि थिए । त्यहीबेला जिल्ला प्रशासन कार्यालयमा खटिएका प्रहरीले चलाएको गोली लागेर सनी खुना लगायतका व्यक्तिहरु घाइते भएका थिए । गोली चलेपछि भीड तितरवितर भयो ।

 

 

 

‘जिल्ला ट्राफिक प्रहरी कार्यालय नजिकै हामी ५ जना साथी थियौं,’ चेतनले भने, ‘अचानक भेरो बायाँ पाखुरामा जोरले ढुंगा हानेजसरी दुख्न थाल्यो ।’ उनलाई गोली लागेको थाहै भएन । गोलीको छर्रा लागेका साथीभाईलाई सुरक्षित ठाउँतिर पुर्‍याउन लागे । जब रिंगटा लागेर आफैं ढले त्यसपछि मात्रै उनले गोली लागेको थाहा पाए ।

 

 

 

‘राजमार्गबाट तरकारी बजारसम्म आफैं हिडेर गएँ,’ चेतनले भने, ‘त्यसपछि एकजना आफन्त भेटिए, उनले नै अस्पताल पुर्‍याए ।’ अस्पतालमा चेतनका आमा बुबा र आफन्तहरु पुगिसकेका थिए । महाकाली अञ्चल अस्पतालमा प्रारम्भिक उपचार गरी उनलाई धनगढी रेफर गरियो । धनगढी जाने क्रममा चेतनलाई सामाजिक सञ्जाल तथा विभिन्न अनलाइनहरुमा आएको उनको मृत्युको खबरबारे थाहा भयो ।

 

‘मलाई मेरो कान्छो बुबाले फेसबुक देखाउनुभयो- तेरो मृत्युको खबर यसरी आइरहेको छ भनेर,’ उनले भने । भोलिपल्ट केही पत्रपत्रिकामा समेत चेतनकै नाम छापिएको थियो । फोटो भने सनी खुनाको थियो । अर्को दिन उक्त खबर सच्याएर आएको चेतन सम्झिन्छन् ।

 

 

चेतनलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय भित्रबाट चलाएको गोली लागेको हो । त्यस दिन मृत्यु भएका सनी खुनालगायतलाई भने जिल्ला प्रशासन कार्यालय नजिकैबाट चलाएको गोली लागेको उनले बताए । चेतनका बुबा पदमराज भट्ट निर्माण व्यवसायी हुन् । आमा पुनम गृहिणी । उनी प्राय बिरामी भइरहन्छिन् ।

 

 

धनगढीस्थित सेती अञ्चल अस्पतालमा ५ दिन उपचारपछि चेतनलाई काठमाडौं लगियो । काठमाडौं शिक्षण अस्पतालमा पनि उनले ४ दिन उपचार गराए । अहिले उनको बायाँ पाखुरामा गोलीका छर्रा छन् ।

 

 

शिक्षण अस्पतालमा सुरुमा राम्रो उपचार भए पनि अहिले फलोअपमा जाँदा लापरबाही हुने गरेको उनले बताए । पाखुरामा रहेका छर्रा निकाल्न डाक्टरले अप्रेशन गर्नुपर्ने बताएका छन् ।

 

 

सरकारले घाइतेको सम्पूर्ण उपचार खर्च व्योहोर्ने भने पनि स्थानीय प्रशासनले फलोअपमा जाँदा लाग्ने टिकट तथा उपचार खर्च दिन नमानेको उनले बताए । कान्तिपुर दैनिकबाट साभार

कमेन्ट गर्नुहोस्