चन्द्रागिरि नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य

काठमाडौं, असोज २० ।

नेपालको चन्द्रागिरि हिल्स प्रालिले नेपालकै एक उत्कृष्ट पर्यटकीय गन्तव्य पुरस्कार प्राप्त गरेको छ ।

भारतको राजधानी नयाँदिल्लीमा आयोजना गरिएको विशेष कार्यक्रममा प्रालिलाई नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्य पुरस्कार प्रदान गरिएको हो ।

चौधौँ वार्षिक अन्तर्राष्ट्रिय हस्पिटालिटी तथा ट्राभल अवार्ड कार्यक्रममा भारतका सामाजिक न्याय तथा वातावरण राज्यमन्त्री रामदाश अठवाले र पर्यटन राज्यमन्त्री के जे अल्फोनले चन्द्रागिरि हिल्सका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई पुरस्कार प्रदान गरे ।

भारत र विश्वका अन्य उत्कृष्ट पर्यटकीय गन्तव्यका साथै सेवा क्षेत्रको पहिचान गरी पुरस्कार प्रदान गर्न भारतको डिएलके पब्लिकेसन प्रालिले बर्सेनि ‘विश्व इण्डिया एण्ड एक्स्प्लोर हस्पिटालिटी ट्राभल अवार्ड’ वितरण कार्यक्रमको आयोजना गर्ने गर्दछ ।

चन्द्रागिरि हिल्स पछिल्लो समयमा नेपालको मात्र नभएर भारतीय पर्यटकहरुमाझ पनि लोकप्रिय र आकर्षक पर्यटकीय गन्तव्य बनेकाले अन्तर्राष्ट्रिय स्तरको पुरस्कार प्रदान गरिएको पब्लिकेसनले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । कार्यक्रममा भारत र अरु देशका पनि केही उत्कृष्ट गन्तव्य र सेवा क्षेत्रहरुलाई पुरस्कृत गरिएको थियो ।

काठमाडौँमा पशुपतिनाथको दर्शनका लागि बर्सेनि हजारौँको सङ्ख्यामा आउने भारतीय पर्यटक चन्द्रागिरिमा भालेश्वर महादेवको दर्शनका लागि पनि जाने गरेका प्रालिका महाप्रबन्धक अभिषेक विक्रम शाहले जानकारी दिए ।

पुरस्कार प्राप्त गरेपछि चन्द्रागिरि प्रालिका अध्यक्ष चन्द्र ढकालले यस पुरस्कारबाट नेपालका राम्रा पर्यटकीय गन्तव्यहरुको भारत र अन्य देशमा पनि पहिचान र प्रचार हुन पुगेको बताउँदै यसले देशमा पर्यटन क्षेत्रको विकास र विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

कमेन्ट गर्नुहोस्