रोनाल्डोको उत्कृष्ट गोल, युभेन्टसको विजयी यात्रा कायम

एजेन्सी । जारी इटालियन सिरी ए फुटबलमा क्रिष्टियानो रोनाल्डो आवद्ध युभेन्टस विजयी भएको छ । रोनाल्डोको उत्कृष्ट गोलसँगै युभेन्टसले विजयी यात्रा कायम राखेको छ । सिरी ए अन्तर्गत शनिबार राति भएको खेलमा युभेन्टसले उडिनेशेलाई २-० ले हराएको हो । अवे मैदानमा भएको खेलमा जित निकाल्ने क्रममा युभेन्टसले पहिलो हाफमा नै दुवै गोल गरेको हो ।

 

 

३३ औं मिनेटमा रोड्रिगो बेन्तान्कुरले गोल गर्दै युभेन्टसलाई १-० को अग्रता दिलाए । पछिल्लो समय एक अमेरिकी महिलाले बलात्कारको आरोप लगाएपछि विवादमा रहेका रोनाल्डोले त्यसको चार मिनेटपछि गोल गरे ।

 

 

सन् २००९ मा भएको भनिएको घटनालाई स्पष्ट रुपले अस्वीकार गरेका रोनाल्डोले ३७ औं मिनेटमा सुन्दर गोल गरेका हुन् । यहि सिजन रियल मड्रिडबाट ११२ मिलियन युरोमा आएका रोनाल्डोले युभेन्टसका लागि चौथो गोल गरेका हुन् । रोनाल्डो टिममा फर्किएको खेल युभेन्टसको लिगमा आठौं जित हो ।

कमेन्ट गर्नुहोस्