महाकालीमा पुल निर्माण गर्न भारतलाई अनुमति

दार्चुला, असोज २१ । जिल्लाको व्यास गाउँपालिकाका ४ ठाउँमा महाकाली नदीमा नेपाल–भारत जोड्ने काठेपुल निर्माण गरिने भएको छ । दुवै देशका स्थानीय बासिन्दाको मागका आधारमा काठेपुल निर्माण हुन लागेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

 

भारतीय क्षेत्रमा सडक निर्माणको काम चालु हुँदा दुवै देशका बासिन्दाले हिँड्ने पैदल मार्ग अवरुद्ध भएकाले महाकालीमा काठेपुल निर्माण गर्न माग गरिएको थियो । भारतीय पक्षले लखनपुर र नजांग तथा नेपाली पक्षले दुम्लिङ र मालमामा अस्थायी काठेपुल निर्माणका लागि माग गरेका थिए ।

 

 

पिथौरागढ जिल्लाको धारचुला तहसिलअन्तर्गत उत्तरी क्षेत्रका बासिन्दाको आउजाउ तथा मानसरोवर जाने भारतीय तीर्थयात्रीको सहजताका लागि भारतीय पक्षले अस्थायी काठेपुल बनाउन माग गरेको थियो । स्थानीयको समस्या मध्यनजर गरी मन्त्रालयबाट समेत अनुमति आइसकेपछि पुल बनाउन सकिने विषयमा भारतीय प्रशासनलाई जानकारी गराइएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले बताए ।

 

उक्त समस्या दुवै देशका बासिन्दाको साझा समस्या भएकाले अस्थायी रूपमा पुल निर्माण गर्न भारतीय पक्षलाई अनुमति दिइएको उनले बताए । भारतीय पक्षले लखनपुरदेखि माथि लिपुलेकसम्म सडक निर्माण तीव्र गतिमा गरिरहेको हुँदा उसका क्षेत्रमा पैदल यात्रा गर्न नसकिएपछि पुल निर्माणका लागि अनुरोध गरेको थियो ।

 

 

योसँगै भारतीय व्यापारीका चीनबाट यो क्षेत्र हुँदै आउने मालसामान ढुवानी सहज हुनेछ । यस्तै व्यास गाउँपालिका १ र २ वडाका बासिन्दा सदरमुकाम आवतजावत गर्न र व्यासी सौका समुदायको बसाइँसराइ मध्यनजर गर्दै भारतीय पक्षसँग दुई ठाउँमा अस्थायी काठेपुल निर्माणका लागि नेपाली पक्षबाट पनि माग भएको थियो । कान्तिपुरमा खबर छ ।

कमेन्ट गर्नुहोस्