स्वच्छ खानेपानी घरघरमा पुर्याउन गौरवका आयोजना सुरु गर्दैछौंः मन्त्री बिना मगर

चितवन २० असोज । खानेपानी मन्त्री बिना मगरले केही ठूला नदीहरुको पानी पूर्ण प्रशोधन गरी आपूर्ति गर्ने उद्देश्यले गौरवका आयोजनाहरु संचालन गर्ने तयारी भइरहेको बताएकी छन् ।

पूर्वी चितवनको रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता सस्थाको नवौँ साधारणसभा तथा पाचौँ अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले हरेक जनतामाझ खानेपानीको पहुँच पुर्याउन त्यसै खेर गइरहेका केही ठूला नदीहरुबाट खानेपानी आयोजना सुरू गर्न लागेको जानकारी दिए ।

उनले भने– ‘कर्णाली, महाकाली, भेरी, बबई र नारायणी जस्ता ठूला नदीको पानी पुर्ण प्रशोधन गरी आपूर्ति गर्ने योजनामा जुटेका छौं, त्यसका लागि मन्त्रालयले विदेशी दातृ निकाय तथा कम्पनीहरुसँग लगानीका लागि कुरा अगाडि बढाइरहेको छ । हामी डिपीआरलाई अन्तिम रुप दिने तयारीमा छौं ।’ कार्यक्रममा उनले हिमालबाट बग्ने हिमनदीको पानी प्रशोधन गरी विदेश निर्यात गर्ने योजना पनि सँगसँगै अगाडि बढाइरहेको जानकारी दिए ।

उनले खानेपानीको आयोजना संगै प्रारम्भिक प्रशोधन गरी ढल निकास गर्नुपर्ने व्यवस्थालाई समेत नीतिगत ढंगले अगाडि बढाउन लागिएको बताए । उनले देशभर रहेका खानेपानी उपभोक्ता सस्थाका गतिविधि तथा कामकारबाहीका बारे एउटै नेटवर्किङ भित्र राखेर अध्ययन गरिने बताए । सह लगानीका आयोजनाहरू प्रभावकारी ढंगले अगाडि बढाउन मन्त्रालय लागिपरेको उनको भनार्इ छ ।

मन्त्री मगरले तत्कालै खानेपानीको जटिल समस्या भएका गाउँहरुबाट योजनाहरु छनोट भएको समेत बताए । उनले १५ दिनको अवधिमा दुरदराजका गाँउहरुबाट करिब ३ सय ५० योजना संकलन भई सकेको समेत जानकारी दिए ।

मन्त्री मगरले आधा घन्टादेखि ५ घण्टासम्मको बाटो हिँडेर पानी लिन जाने बाध्यता हटाउनको निम्ति ३५० योजना संकलन गरेको र तत्कालै ती योजनाहरुमा काम सुरु गर्ने प्रतिबद्धता जनाएकी छन् ।

केही झलकहरु-

कमेन्ट गर्नुहोस्