काम नगर्ने जनप्रतिनिधिले तलब भत्ता नपाउने

कपिलवस्तु, असोज २१ ।

प्रदेश ५ का सामाजिक विकास मन्त्री सुर्दशन बरालले काम नगर्ने जनप्रतिनिधिको तलब भत्ता रोक्का गर्ने चेतावनी दिएका छन् । प्रदेशलाई साक्षर बनाउने अभियानमा प्रदेश सरकार लागेको भन्दै मन्त्री बरालले यसै आर्थिक वर्षभित्र काम सक्न जनप्रतिनिधिलाई आग्रह गरे ।

कपिलवस्तुको बुद्धभुमि नगरपालिकाको साक्षर घोषणा कार्यक्रममा शनिवार बोल्दै मन्त्री बरालले स्थानीय तहका जनप्रतिनिधिलाई साक्षर, खुल्ला दिशा मुक्त र पूर्ण भर्ना घोषणा गर्न आग्रह गरे । उनले भने, ‘यदि तोकिएको समयमा काम नगरे सरकारले दिने तलबभत्ता रोकिन्छ । प्रदेश सरकारले यस बारेमा निर्णय गरिसकेको छ ।’

कार्यक्रममा प्रदेशका सामाजिक विकास समितिका सभापति तथा सांसद दीर्घनारायण पाडेले शिक्षाको विकास बिना समृद्धि आउन नसक्ने बताए । साक्षर घोषणा भए पनि यसलाई पूर्ण कार्यान्वयन गर्न सके बल्ल अभियानले सार्थकता पाउने उनले बताए । नगरका १० ओटै वडालाई साक्षर घोषणा गर्दै सिंगो नगरलाई साक्षर बनाएको उनले बताए ।

कमेन्ट गर्नुहोस्