नेविसंघमा ३२ वर्षे उमेर हदले ल्यायो तरङ्ग, महतले प्रस्ताव प्रस्तुत गरेपछि विवाद शुरु

काठमाडौँ , नेपाल विद्यार्थी संघमा ३२ वर्ष पुरा भएकाले निर्वाचन लड्न नपाउने विषय औपचारिक प्रस्तावका रुपमा कांग्रेस बैठकमा प्रवेस गरेको छ ।

यो सँगै ३२ वर्षे उमेर हदको पक्ष र विपक्षमा ठूलो बहस सिर्जना भएको छ ।

एकथरि विद्यार्थी नेताहरुले ३२ वर्षे उमेर हदको वकालत गर्दै पार्टीमा दबाब दिँदै आएका थिए भने ३२ वर्ष पुरा भएकाहरु भने यसको विपक्षमा छन् ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा सहमहामन्त्री एवं पार्टीद्वारा गठित निर्देशन समितिका संयोजक प्रकाशरण महतले आइतबार यो विषयमा औपचारिक प्रस्ताव प्रस्तुत गरेका हुन् ।

उक्त प्रस्तावमाथि अहिले छलफल भइरहेको छ । विद्यार्थी नेताहरुले ३२ वर्षे उमेर हद हटाउन माग गर्दै आजै बिहान पार्टीका शीर्ष नेताहरुलाई ज्ञापन बुझाएका थिए ।

३२ वर्ष नाघेका विद्यार्थी नेताहरुले उमेर हद नराख्न दबाव दिँदै आएका छन् । पार्टीमा भने संस्थापन पक्ष ३२ वर्ष उमेर हद लगाउने पक्षमा उभिएको छ भने संस्थापनइतर पक्ष हटाउने पक्षमा छ । त्यसैको विवादले शुक्रबारको केन्द्रीय कार्यसमितिको बैठकसमेत स्थगित गरिएको थियो ।

कमेन्ट गर्नुहोस्