शान्ति प्रक्रियाका बाँकी काम मौलिक ढङ्गले टुङ्याइने प्रधानमन्त्रीको घोषणा

द्वन्द्वका नाममा गरिएका सबै अपराधमा छुट हुँदैन

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले द्वन्द्वकालमा गम्भीर अपराधका घटनामा माफी दिन नसकिने बताएका छन् ।

पत्रकार शुभशंकर कँडेलद्वारा लिखित पुस्तक ‘अवतरण’ विमोचन समारोहलाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले शान्ति प्रक्रियाका बाँकी अवशेषहरुलाई पद्धतीगतरुपमा हल गरिने समेत बताए । “शान्ति प्रक्रियाका केही अवशेष बाकी छन् । ती टुंगोमा पुर्‍याउछौं, अब धेरै चिन्ता लिनुपर्दैन । यसलाई अनुपयुक्त ढंगले होइन, पीडितले न्याय नपाउने गरी होइन । मौलिक ढंगले टुंग्याउछौं’ उनले भने । ‘द्वन्द्वका नाममा गरिएका सबै अपराधमा छुट हुँदैन । मानवताका विरुद्धका अपराध जसले गरेको भए पनि दोषीलाई उम्कन दिदैनौं’ उनको भनाई थियो ।

कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले जनताले दिएको मतको विश्वासघात गर्न नसकिने बताए । “जनताले देश बनाउन बहुमतसहित स्थायी सरकार दिएका छन् । त्यस अभिभारालाई म विश्वासघात गर्न सक्दिनँ” उनले भने ।

उनले जनताको हकअधिकारप्रतिको आफ्नो निष्ठा कायम रहेको उल्लेख गरे। ‘जनताको हकअधिकारप्रतिको निष्ठा कायम छु प्रधानमन्त्री ओलीले भने, ‘हक अधिकार भनेका माइतीघरमा गएर बोल्न पाउने, कराउन पाउनेमात्रै होइन, खाना, लाउन, बस्न, छोराछोरी पढाउनसमेत पाउने सम्पूर्ण अधिकार हो।’

नेकपाका अध्यक्षसमेत रहेका ओलीले आफू नेतृत्वको सरकारले पाएको बहुमत कुनै भवितव्यमा नआएको बताए। उनले पहिल्यैदेखिको तयारी र योजनाका कारण यो सरकारले बहुमत पाएको प्रस्ट्याए। ‘म बहुमतको सरकारको नेतृत्व गरिराखेको छु। यो अवसर त्यत्तिकै भवितव्यले आएको होइन, साथीहरु र जनताको विश्वासले हो।’ उनले चुनाव अगाडिदेखि नै तयारी गरेकोले एमाले–माओवादीलाई बहुमत पाएको उल्लेख गरे। यी दुई पार्टीबीच गत जेठमा एकतापछि नेपाल कम्युनिस्ट पार्टी  गठन भएको हो।

प्रधानमन्त्री ओलीले भ्रष्टाचार नगर्ने प्रतिबद्धता समेत दोहोर्‍याएका छन्। उनले आफूबाट इमान्दारिताका साथ काम सुरु भएपछि अन्यत्र बेइमानी नहुने विश्वास व्यक्त गरे। ‘कहींकहीं लुकेर भ्रष्टाचार, बेइमानी चल्ला तर थाहा भएपछि ठीक हुँदैन” उनले भने, “समय लाग्ला तर विकृति रोक्न सकिन्छ, रोकिन्छ।”

देश प्रतिगमनतिर जान लागेको कुरा निरर्थक रहेको प्रधानमन्त्री ओलीले बताए। उनले दसकौंसम्मको संघर्ष र जनआन्दोलनबाट स्थापित लोकतन्त्र कसैले खोस्न नसक्ने बताए। सरकार लोकतान्त्रिक प्रणालीभित्र रहेको र त्यही प्रक्रियाबाट अगाडि बढ्ने उनको भनाइ थियो।

सरकार गठन भएको करिब ७ महिनामा संविधान कार्यान्वयनका लागि प्रदेश संरचना निर्माण, विभिन्न कानुनहरुबनाउने र संशोधनका काम गरिएको उनले बताए।

कमेन्ट गर्नुहोस्