सरकारी वार्ताटोलीको पत्र विप्लवकहाँ गएन

काठमाडौंं, असोज २२ । सरकारले विभिन्न समूहसँग वार्ता गर्न गत ८ भदौमा नेकपा केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेको संयोजकत्वमा वार्ताटोली गठन गरेको थियो ।

 

सरकारी वार्ताटोली गठन भएको डेढ महिना बितिसक्दा पनि नेक्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई पत्र पठाइएको छैन ।

 

सरकारी वार्ताटोलीले ४२ समूहको पहिचान गरी सबैलाई पत्र पठाइसकेको छ । तर, अझै पनि विप्लव समूहलाई वार्ताका लागि आधिकारिक पत्र पठाइएको छैन ।

 

‘विप्लवजीहरूलाई पत्र पठाउने विषयमा छलफल भइरहेको छ,’ सरकारी वार्ताटोलीका संयोजक पाण्डेले भने, ‘तर उहाँका नेता कार्यकर्ता अझै हिरासतमा भएकाले कसरी वार्ताको वातावरण तयार गर्ने भन्ने विषयमा टुंगो लागेको छैन ।’ विप्लवलाई वार्तामा ल्याउने वातावरण तयार भएपछि आधिकारिक रूपमै पत्र पठाइने उनले बताए । तर, विप्लव नेतृत्वको नेकपा एक नेताले आफूहरूका सर्त पूरा भए मात्र वार्तामा बस्न तयार रहेको बताए ।

सरकारी टोली र विप्लवबीच अविश्वास हुँदा वार्ता भएन
सरकारी वार्ताटोलीले विप्लव समूहले आफ्ना सबै गतिविधि बन्द गरी शान्तिपूर्ण मूलधारको राजनीतिमा आउने विश्वास दिलाएपछि मात्र आधिकारिक पत्र पठाउने योजना बनाएको छ ।

 

 

विप्लव समूहले वार्ताको नाममा वार्ता गरेर आफ्ना नेता कार्यकर्ता जेलबाट छाड्ने रणनीति बनाउन सक्ने भन्दै सरकारी वार्ताटोलीले अविश्वास गरेको छ ।

 

 

उता, विप्लव समूहले नेकपा केन्द्रीय सदस्यको संयोजकत्वमा वार्ताटोली बनाएकाले आफ्ना माग पूरा हुनेमा विश्वास गरेको छैन । सरकारी पक्ष गम्भीर भएको भए गृहमन्त्री वा प्रधानमन्त्री कुनै शीर्ष तहको वार्ताटोली बन्नुपर्ने ती नेताको भनाइ छ । तर, पनि विप्लव समूह सरकारी वार्ताटोलीको पत्र कुरेर बसेको छ । सरकारी पत्र आएपछि मात्र आफ्नो वार्ताटोली गठन गर्ने उसको तयारी छ । नयाँ पत्रिकामा खबर छ ।

कमेन्ट गर्नुहोस्