धर्मका नाम हुने पशुबली रोक्न देशव्यापी अभियान

काठमाडौँ, असोज २२ ।

दसैंका बेला शक्तिपीठमा हुने पशुबलि रोक्न ७७ वटै जिल्लामा अभियान सुरु भएको छ ।

नवजीवन परोपकार सामाज, मानव कल्याण समाज, बौद्ध निङमा संघ, श्रीकृष्ण प्रणामी युवा परिषद्, अहिंसाप्रेमी शाहाकारी समाजलगायत २८ वटा सामाजिक संघसंस्थाका पहलमा शक्तिपीठ तथा कोतघरमा दशैँका बेलामा हुने बली रोक्न माग गर्दै अभियान शुरु गरिएको नवजीवन परोपकार सामाजका अध्यक्ष दुर्गानाथ दाहालले बताए ।

अभियानअन्तर्गत ती संघसंस्थाले एक सातायतादेखि विभिन्न शक्तिपीठ व्यवस्थापन समिति, त्यहाँका पुजारी, ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, कृषि तथा पशुपक्षी विकास मन्त्रालय र प्रमुख राजनीतिक दलका पार्टी कार्यालयमा ज्ञापत्रनपत्र बुझाइएको छ ।

हिन्दूमात्र होइन विश्वका सबै धर्मग्रन्थले सबै प्राणीमाथि दया, करुणा, मायाकै लागि प्रेरित गरिरहेको जानमकारी दिँदै उनले भने, ‘बलीप्रथा रोकेर समाजलाई हिंसामुक्त बनाउनुपर्छ ।’ ज्ञापनपत्रमा सजीव प्राणी सबैलाई बाँच्ने अधिकार भएकाले धर्मका नाममा निरीह, प्राणीमाथि खुँडा, खुकुरी, तरबारजस्ता हतियार चलाउनु कायरता भएको उल्लेख छ ।

दशैँलाई साधनाको पर्व, असत्यमाथि सत्यको विजय, पारस्परिक सद्भाव र सम्मानको पर्वको रुपमा विकास गर्दै लैजानुपर्ने भएकाले पशुबलीको कलंकलाई हटाउनुपर्नेमा उक्त अभियानमा सक्रिय नायक निखिल उप्रेती जोड दिए ।

उनले भने, ‘एक्काइसौँ शताब्दीमा आएर पनि ढुङ्गालाई राक्षस र देउताका नाममा छुट्याएर चेतना भएका व्यक्ति पनि हिंसा गर्नमा उत्साहित भएकाले धर्मको नाममा हुने हिंसाजन्य विकृति रोक्नु सबैको कर्तव्य हो ।’

कमेन्ट गर्नुहोस्